शनिबार, माघ ५, २०८१
19:29
|
०१:१४
बेलायतका अस्पताल ओमिक्रोन संक्रमितले भरिन थाले
नेपाली लिङ्क
जनवरी ३, २०२२
लन्डन । कोरोना भाइरसको नयां भेरियन्ट ‘ओमिक्रोन’ का कारण बेलायतका अस्पतालमा विरामीको चाप बढ्ने क्रम शुरु भएको छ । बेलायतका अस्पतालमा अहिले करिब १२ हजार विरामी भर्ना भएका जनाइएको छ ।
यसअघिको ‘डेल्टा’ जस्तो घातक नभएपनि अति संक्रामक ठानिएको ओमिक्रोन संक्रमणले आउंदा साताहरुमा अस्पतालले थप चाप बेहोर्नुपर्ने देखिएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।
प्रधानमन्त्री जोन्सनले कोभिड महामारी अन्त्य भएको ठानिनु मुर्खता हुने बताउंदै अहिले अस्पतालको आइसीयूमा रहेका विरामी खोप वा बुस्टर डोज नलगाएका बढी पाइएको बताएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि यो अन्य भेरियन्टभन्दा कम घातक रहेको प्रधानमन्त्रीको धारणा छ ।
बेलायतमा आइतबारमात्र झण्डै एक लाख ४० हजार संक्रमित भएका थिए । सरकारले बुस्टर खोपलाई प्राथमिकता दिंदै सबैलाई खोप लगाउन आग्रह गरेको छ ।
नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुखले लन्डनका अस्पतालमा पनि विरामी भर्ना उच्च हुन सक्ने चेतावनी दिएका छन् । एनएचएसमा अहिले १० मा एकजना कर्मचारी संक्रमित भएर अनुपस्थित भएका तथ्यांकले देखाएको छ ।
लिंकनसायर हस्पिटल ट्रष्टले अस्पतालमा कोभिड संक्रमणका कारण कर्मचारी अभाव भएको भन्दै ‘संकटपूर्ण अवस्था’ आएको बताएको छ ।
लन्डन, योर्कसायर र इसेक्सका दर्जन बढी अस्पतालले कोभिड विरामी बढेपछि भेटघाटका लागि भिजिटर आउन प्रतिवन्ध लगाएका छन् ।
बेलायती शिक्षामन्त्री नधिम जहावीले ५० वर्ष उमेर भन्दा माथिको समूहमा ओक्रिमन भेरियन्ट फैलिइरहेको जनाएका छन् । तर उनले ९० प्रतिशत बढी वृद्धवृद्धाले बुस्टर खोप लगाइसकेकाले अहिले इंग्ल्याण्डमा तत्काल थप प्रतिवन्ध आवश्यक पर्ने तथ्यांकले नदेखाएको पनि बताए ।
यद्यपि, सरकारले इंग्ल्याण्डका माध्यमिक तह पढ्ने सबै विद्यार्थीले अब कोभिड परीक्षण र मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालय (अफिस फर नेशनल स्टाटिसटिक्स) ले गत ३१ डिसेम्बरमा सार्वजनिक गरेको तथ्यांक अनुसार ७५ वर्ष र १५ देखि २४ वर्ष उमेर समूहका मानिस अस्पताल भर्ना हुने क्रम बढेपनि अन्य समूहमा घटेका पाइएको थियो ।
नेपलिज डक्टर्स एसोसिएसन यूके अध्यक्ष तथा कन्सल्टेन्ट सर्जन डा. कमल अर्यालले ४०० बेडको आफू कार्यरत अस्पतालमा कोभिड विरामी झण्डै दोब्बर बढेको बताए ।
अहिले अगाडिका दुई लहरभन्दा चाप कम भएपनि क्रमशः कोभिड विरामी भर्ना बढ्दै गएको अर्यालले जनाए । ‘नडराइ बस्न सकिने अवस्था छैन्’, अर्यालले सुझाए, ‘बुस्टर डोज लगाएर सुरक्षित रहन म सबैलाई आग्रह गर्दछु ।’
डारेन्ट भ्याली अस्पताल डार्टफोर्डमा एपीलेप्सी
स्पेशलिष्ट नर्स तथा नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतमले ओमिक्रोनका कारण नर्सहरुलाई चुनौतिपूर्ण रहेको जनाइन् । ‘विरामी भर्ना वृद्धिसंगै स्टाफ नर्सहरु नै संक्रमित भएर थप मार परेको छ’, उनले भनिन् ।
डार्टफोर्ड नेपाली समुदायमा धेरै नेपाली समेत ओमिक्रोन संक्रमित रहेको उनले जनाइन् ।
क्वीन एलिजावेथ अस्पतालमा कार्यरत स्पेशलिष्ट नर्स सुशीला कार्की पनि आफ्नो अस्पतालमा कोभिड विरामी भर्ना हुने क्रम बढेपछि त्यसले सामान्य विरामीको जांच रुटीन सरेको बताउंछिन् ।
ओमिक्रोन भेरियन्टले गम्भीर प्रकृतिको रोग निम्त्याउने खतरा भने कम रहेको नयां अनुसन्धानले देखाएको छ । बेलायतस्थित ६ अनुसन्धान समूहको अध्ययन प्रतिवेदनले ओमिक्रोन कोभिड भेरियन्टले घांटीमा समस्या उत्पन्न गरेपनि फोक्सोमा गम्भीर असर
नगर्ने देखाएको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५