गुरुङ सोसाइटी केन्ट यूकेमा भर्चुअल ल्होसारको पहिलो अनुभव
केन्ट । गुरुङ सोसाइटी केन्ट यूकेले भर्चुअल माध्यमबाट तो ल्होसार मनाएको छ । गत बिहीबार (३० डिसेम्बर २०२१) सांझ कार्यक्रम भएको हो ।
सो कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष श्रीमती राजदेवी गुरुङले गरेकी थिइन् । गाई वर्ग लो–ल्होको विदाई र बाघ वर्ग तो–ल्होको स्वागत गर्न आयोजित उक्त कार्यक्रममा केन्टबासी तमु (गुरुङ) हरुको उल्लेख्य सहभागिता थियो ।
समाजका महासचिव गोलमान गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा ७ औँ कार्यसमितिले आफूले गरेका विभिन्न गतिविधि समेटेर बनाइएको करिब १० मिनेटको भिडियो प्रस्तुति गरेपछि सुरु भएको उक्त कार्यक्रम औपचारिक रुपमा अध्यक्ष श्रीमती राजदेवी गुरुङले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेकी थिइन् ।
त्यसलगत्तै सम्पूर्ण पितृ तथा ज्ञातअज्ञात शहीदहरुको सम्झनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । नेपाल र बेलायतको राष्ट्रिय धुन र युवा प्रथम गुरुङले भायोलिनको उत्कृष्ट धुन बजाएका थिए । त्यसपछि धर्मगुरुहरुले तो–ल्होसारको शुभकामना साथै आशीर्वाद दिएका थिए । समाजका प्रथम उपाध्यक्ष एवं तो–ल्होसार कार्यक्रम संयोजक डोलबहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा विश्वविद्यालय अध्ययन पूरा गरेर उच्च शिक्षा हासिल गरेकी ओखलढुंगा रुम्जाटार पुर्ख्यौली घर भई हाल आसफोर्ड केन्ट निवासी तेजबहादुर गुरुङ र राजदेवी गुरुङकी सुपुत्री डा सुदीक्षा गुरुङलाई सम्मान गरियो ।
त्यसैगरी नेपालमा रहेर पनि गुरुङ सोसाइटी केन्ट यूकेलाई कोरोना महामारीका बेला राहत वितरणको लागि अतुलनीय साथ सहयोग दिने नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्वादाता बद्रीकाजी गुरुङलाई सम्मान पत्रबाट विभूषित गरिएको थियो । गुरुङ नेपाल टेलिभिजनमा सातौं अधिकृत तहमा वरिष्ठ समाचार सम्पादक छन् ।
त्यसैगरी समाजको विभिन्न क्षेत्रमा योगदान दिएवापत उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२० बाट समाजसेवी रक्षे गुरुङ र जिता गुरुङ सम्मानित भए भने २०२१ को उत्कृष्ट समाज सेवा सम्मान पत्रबाट पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार चित्र कोन्मे गुरुङ सम्मानित भए । दुवै सम्मानित व्यक्तिले आफ्नो धारणा राखेका थिए ।
गुरुङ सोसाइटी केन्ट यूकेले चित्र कोन्मे गुरुङले सन् २०११ मा स्थापना गरेको ब्राइट फ्यूचर अवार्ड पनि वितरण गरेको थियो । हरेक वर्ष जीसीएसई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने तमु विद्यार्थीलाई अभिनन्दन र सम्मान गर्ने हेतुले प्रदान गर्दै आइरहेको उक्त अवार्ड गत वर्ष २०२० को जिसिएसइमा सबैभन्दा राम्रो अंक ल्याई उत्तीर्ण तमु विद्यार्थी केन्ट निवासी गोलमान गुरुङ र मीना गुरुङको सुपुत्र साश्वत गुरुङलाई १०१ पाउण्डको चेकद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरि, सन् २०२१ को जिसिएसइमा सबैभन्दा राम्रो अंक ल्याई उत्तीर्ण तमु विद्यार्थी सुश्री रिबिका गुरूङलाई ‘ब्राइट फ्युचर अवार्ड २०२१’ र १०१ पाउण्डको चेकद्वारा सम्मान गरियो ।
पहिलो चरणको औपचारिक कार्यक्रमको अन्तमा समाजकी अध्यक्ष राजदेवी गुरुङले सम्मानित ब्यक्तित्वलाई बधाईसहित ल्होसारको शुभकामना र कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिइन् ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक ममता गुरुङ र सहसांस्कृतिक संयोजक इन्द्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । गुरुङ राष्ट्रिय गीतबाट सुरु भएको सांस्कृतिक कार्यक्रममा स्थानीय नयाँ पुस्ताका कलाकार भाइबहिनीहरुले अत्यन्तै सुन्दर र उत्कृष्ट गुरुङ तथा नेपाली गीतहरु प्रस्तुत गरेर उपस्थित सबैको मन जिते ।
कलाकारहरु प्रथम गुरुङ, भीम प्रसाद गुरुङ, राधिका गुरुङ, रबिन्सन गुरुङ, रुबिना गुरुङ, संस्कृति गुरुङ, रक्षे गुरुङ, जिता गुरुङ, राशना गुरुङ, राइसा गुरुङ, इन्द्र गुरुङ र नेपालबाट जोडिएका उत्कृष्ट गायकद्वय राजेन कार्की र निलमणि भण्डारीले सहभागीलाई मनोरन्जन दिए ।
उक्त भर्चुअल तो–ल्होसार कार्यक्रम सफल बनाएकामा कलाकारलाई धन्यवाद र सम्झनास्वरुप मायाको चिनो र सर्टिफिकेट दिइएको थियो ।
केन्टबासी गुरुङहरुको उल्लेख्य उपस्थिति रहेको उक्त भर्चुअल कार्यक्रममा नेपालबाट जोडिएका दुवै गायकले अत्यन्तै सुन्दर गीतहरु गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाए । कार्यक्रम राती ११ बजे समापन भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५