गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तीन महिनाभित्र सञ्चालनको तयारी
काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा आउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले करिब निर्माण सम्पन्न रहेको उक्त विमानस्थल आगामी तीन महिना भित्र उद्घाटन गरिने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सबको शुक्रबार उद्घाटन गर्दै मन्त्री आलेले गौतमबुद्ध विमानस्थलमा छिट्टै ‘क्यालिब्रेसन फ्लाइट’ गरेर व्यावसायिक उडान सञ्चालन गरिने उल्लेख गरे।
उनले भने, ‘अब हामी भैरहवा विमानस्थल उद्घाटनको संघारमा छौँ । हवाई रुटका सम्बन्धमा भारतसँग हालै नयाँ दिल्लीमा त्यहाँको एभिएसन मिनिस्टरसँग कुराकानी भएको छ । कागजात ल्याउनुस् हामी सकारात्मक छौँ भन्नुभएको छ, चाँडै यो प्रक्रिया टुङ्गिने अपेक्षा गरिएको छ ।’
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भई रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङग सिस्टम, एक्सरे आदि उपकरण जडान कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
पर्यटनमन्त्री आलेले छिटो ‘विजनेश प्लान’ ल्याएर कम्तीमा १४ वटा जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगम नेतृत्वलाई निर्देशन दिइसकिएको बताए। ‘मैले धेरै अगाडि पनि भनेको थिएं । प्राधिकरणले भटाभट विमानस्थल बनाउँदै जान्छ, तपाईं (वायुसेवा निगम) अन्य कम्पनीका नयाँ जहाज गनेर बस्नुस् । भएका जहाज मर्मत गरेर उडाउनुस् भनिरहेको छु’, उनले भने ।
मन्त्री आलेले युरोपका आकाशमा नेपाली जहाज उडाउने वातावरण सिर्जना गर्न युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न पनि प्राधिकरणलाई निर्देशन दिए ।
प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध विमानस्थलमा जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी भइरहेको जानकारी दिए । ‘क्यालिब्रेसन फ्लाइटको तयारी भइरहेको छ, केही हाम्रै कारणले रोकिएको थियो, फिडर जडानको काम भइसकेको छ । उडान अनुमति पाएको एरो थाईका प्राविधिकले निरीक्षण गरेर गइसकेकोले जनवरीभित्रै परीक्षण उडान हुन्छ’, उनले भने ।
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको छ । अबको आठ महिनाभित्रै पोखरा विमानस्थल पनि उद्घाटन गरिने योजना छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । विमानस्थल क्षेत्रमा रहेका रुख विरुवाको गणना गर्ने कार्य प्रदेश वन डिभिजन कार्यालयबाट भइरहेको प्राधिकरणले जनाएको छ ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्राधिकरणले उठाएका गम्भीर चासोका विषयलाई व्यावहारिक ढंगले सम्बोधन गर्न मन्त्रालयले समन्वयकारी भूमिका खेल्ने बताए । प्राधिकरणसम्बन्धी संसद्मा विचाराधिन दुई विधेयक उपर कर्मचारीका सरोकारका विषयलाई पनि समेटेर प्रगतिमूलक ढङ्गले अघि बढाइने सचिव न्यौपानेको भनाइ छ । प्राधिकरण विभाजन गरेर नियामक र सेवा प्रदायकको रुपमा स्थापित गर्नेगरी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश गर्ने चरणमा छ ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम र प्राधिकरणको समन्वय र सहकार्यबाट निगमको साख अभिवृद्धिका लागि भइरहेका पछिल्ला प्रगतिको प्रशंसा गरे । प्राधिकरण कर्मचारी युनियनका प्रतिनिधि लक्ष्मणकुमार गिरीले कर्मचारीको मर्का र गुनासोलाई सम्बोधन गरेर मात्रै विधेयक अघि बढाइनुपर्ने धारणा राखे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५