शनिबार, माघ ५, २०८१
19:32 | ०१:१७

बेलायत आउनुअघि प्रस्तावित राजदूत आचार्यले लिए प्रशिक्षण

नेपाली लिङ्क डिसेम्बर ३१, २०२१

लण्डन—बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले लण्डन आउनुअघि प्रशिक्षण लिएका छन् । 

आचार्यसहित प्रस्तावित तीन मुलुकका राजदूतहरूले सम्बन्धित मुलुकबाट अग्रिमो (सहमति पत्र) आउनुअघि नै अन्तरक्रिया कार्यक्रममा भाग लिएका हुन् ।

बेलायतका लागि प्रस्तावित राजदूत आचार्य, भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले कार्यक्रममा भाग लिए । साधारणतया राजदूतमा नियुक्त भएपछि मात्र उक्त कार्यक्रममा सहभागी गराइने चलन थियो ।  

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गरेको अन्तरक्रिया गरेको थियो ।  

राजदूत भएर सम्बन्धित मुलुकमा के–के काम, कसरी गर्नेदेखि विदेशीसँग कसरी खाना खाने जस्ता विषयमा समेत राजदूतलाई विज्ञहरुले सिकाउँछन् ।

प्रस्तावित राजदूतसामु परराष्ट्र मन्त्री नारायण खड्का, मुख्य सचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्यालदेखि अन्तर्राष्ट्रिय, अर्थतन्त्र र परराष्ट्र मामिलालगायतका जानकारहरुले अन्तरक्रिया गरेका थिए । 

अहिलेको विश्व राजनीति, नेपालले विज्ञान र प्रविधि कूटनीतिमा ध्यान दिनु पर्नेदेखि शिष्टाचारका बारेमा पनि राजदूतहरूसँग अन्तरक्रिया भएको जनाइएको छ । उनीहरुलाई ‘टेबल म्यानर’ भने मेरियट होटलमा गराइएको थियो ।

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले भने आफू बेलायतका लागि राजदूतमा सिफारिस भएपछि उक्त अन्तरक्रियामा भाग लिन अस्वीकार गरेपछि आलोचना भएको थियो ।

नेपाल सरकारले शर्मा, खत्री र आचार्यलाई कात्तिक ११ गते सम्बन्धित मुलुकको राजदूतमा सिफारिस गरेको थियो । 

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरुमा अग्रिमो लिनका लागि पत्राचार गरेको गरिसकेको छ । 

अग्रिमो आइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्ने छिन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू