बिहीबार, मंसिर १३, २०८१
08:44 | १४:२९

अध्यक्ष दाहालको दस्तावेजमाथि २५ समूहमा छलफल

रासस डिसेम्बर २८, २०२१

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि अधिवेशनस्थल प्रज्ञा भवनमा समूहगत छलफल गर्दै प्रतिनिधि । तस्बिर-रासस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ ।
आइतबारदेखि सुरु भएको माओवादीको आठौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो ।
‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च छ । सो समूहले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल सुरु गरेको छ । सो समूहको समन्वयको जिम्मेवारीमा एनके प्रसाईं छन् ।
समूह २ र ३ मा पार्टीका सल्लाहकार रहेका छन् । सो समूहको छलफल प्रज्ञा भवनको मुख्य मञ्चको दायाँबाँया हुँदैछ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधिले प्रज्ञा भवन भानुभक्त हलमा छलफल थालेका छन् । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन् ।
समूह ६ र ७ मा  प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । यो छलफल प्रज्ञा भवनको पारिजात हलमा भइरहेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएका छन् ।
समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिको प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल हुनेछ । सो समूहको संयोजन नेता चक्रपाणि खनालले गरिरहेका छन् । समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् ।
सो समूहको छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ छन् ।
समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन् । सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श सुरु गरेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन् ।
समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्दैछ । संयोजकमा कर्णाली प्रदेश अध्यक्ष बिमला केसी छन् । समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा भने खगराज भट्ट छन् । समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् ।
सो समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिङ्खडा छन् ।
समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । नेता कृष्ण अधिकारीले सो समूहको समन्वय गरेका छन् ।
समूह २२ र २३  मा बागमती प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैंक्वेट थापागाउँमा सुरु भएको छ । सो समूहको समन्वय प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गरेका छन् ।
समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु भएको छ । सो समूहको समन्वय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले गरिरहेका छन् ।
समूह २५ मा जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि सहभागी छन् । सो समूहले काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु गरेको छ । सो समूहको समन्वय नेत्री अमृता थापा मगरले गरेकी छन् ।
माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।
समूहगत छलफलका लागि केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागमा पुगेका छन् । मंगलबार दिनभर समूहगत छलफल हुनेछ । बुधबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा समूह प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू