मलेसियामा बाढीले १४ को मृत्यु, ७० हजार विस्थापित
शाह अलाम, ६ पुस– मलेसियामा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखिको अत्यधिक बर्षाका कारण बाढी आएर धनजनको क्षति गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढीका कारण अन्य ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यस बाहेक करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।
उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरुले विस्थापितहरुलाई सहयोग प्रदान गरेका छन् ।
मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरुले बाढी पीडित, डुवानमा परेका तथा विस्थापितहरूलाई डुंगाबाट मंगलबार पनि खाद्य पदार्थ वितरण गरेका थिए । बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका सेवा अवरुद्ध भएका छन् भने उद्धार कार्यमा समेत कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् ।
जताजतै बाढी भएकाले कतिपय व्यक्तिहरू थुनिएको वा डुवानमा परेको ठाउँबाट पौडिदै ज्यान जोगाउन र सुरक्षित स्थानमा पुग्न सफल भएका छन् ।
मलेसियामा बाढीका कारण अरु लाखौँ नागरिक प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५