शुक्रबार, माघ ४, २०८१
13:31 | १९:१६

कोल्चेस्टरका नेपालीको घरदैलोमा लन्डन दूतावासको कन्सुलर सेवा

नेपाली लिङ्क डिसेम्बर २०, २०२१

लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायतको कोल्चेस्टरमा पुगेर आफ्नो घुम्ती सेवा प्रदान गरेको छ ।  

स्थानीय कोल्चेस्टर नेप्लिज सोसाइटीसंगको सहकार्यमा दूतावासको टोली गत शनिबार कोल्चेस्टर पुगेर स्थानीय नेपालीहरुलाई सेवा उपलब्ध गराएको हो । कोल्चेस्टरस्थित अबिगेट हाउसमा डेस्क राखेर दूतावासको कन्सुलर सेवा प्रदान गरिएको थियो । 

सेकेन्ड सेक्रेटरी रामबाबु नेपालको नेतृत्वमा गएको दूतावासको टोलीबाट त्यस क्षेत्रका दुई दर्जन बढी नेपालीले प्रत्यक्ष लाभ लिएका छन्   

कोल्चेस्टर नेप्लिज सोसाइटीका अध्यक्ष एवम् मेजर उदयबहादुर गुरुङ (एमबिई) का अनुसार दूतावासले घुम्ती सेवामार्फत् १२ जनाको एनआरएन कार्ड, २ जनाको भिजिट भिसा र १२ जनाको नेपाली राहदानी नवीकरणको काम गरिदिएको छ ।  


अध्यक्ष गुरुङले कोल्चेस्टरमै पुगेर कन्सुलर सेवा प्रदान गर्ने दूतावास कर्मचारीहरुप्रति कोल्चेस्टरवासी सम्पूर्ण नेपालीहरुको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् । ‘हामी धेरै आभारी छौं दूतावासप्रति, उहाँहरुको घुम्ती सेवाले यहाँका धेरै नेपालीलाई निकै सजिलो भयो’, उनले भने, ‘लन्डन जांदा-आउंदा सिंगो दिन त खर्चिनु परेन नै, जनही सय, डेढ सय पाउण्डको ट्रेन भाडा समेत जोगिएको छ ।’

दूतावासले उपलब्ध गराएको कन्सुलर सेवा कोलचेस्टर नेपाली समाजका लागि निकै नै लाभदायक र सह्रानीय बनेको अनुभव अध्यक्ष गुरुङले सुनाए । उनले थपे, ‘हाम्रो घरदैलोमै कन्सुलर सेवा प्रबन्ध गरिदिनुहुने कार्यवाहक राजदूत रोशन खनाल र  कोल्चेस्टर आएर सेवा दिनुहुने सेकेन्ड  सेक्रेटरी रामबाबु नेपालसहित सिंगो दूतावास परिवारप्रति हामी आभारी छौं ।’  

अध्यक्ष गुरुङले दूतावासको घुम्ती टोलीलाई सहयोग गर्ने र आवश्यक तयारीमा जुट्ने समाजका सबै सदस्य एवम् अभियन्ताहरुप्रति पनि आभार प्रकट गरे ।  

कार्यक्रमका लागि विभिन्न तवरले सहयोग पुर्‍याउने क्याप्टेन उमेश कुमार पुन (एमभिओ) र श्रीमती रुपा पुन, कर्णबहादुर राणा, शोभित गुरुङ, दमबहादुर पुन, श्रीमती रुकमाया राना, श्रीमती मिश्री गुरुङ, श्रीमती जसकुमारी गुरुङ र श्रीमती टक माया पुनलगायतका सबै सहयोगीप्रति सोसाइटीका तर्फबाट अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू