कोरोनाविरुद्धको खोप अभियान सफल बनाउन सरकारको अपिल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैत्रभित्र सबै जनतालाई कोरोनाविरुद्धको खोप दिने सरकारको अभियानलाई सघाउन अपिल गरेका छन् ।
कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रवक्ता कार्कीले चैतभित्र पूर्ण खोप पु¥याउने अभियान सफल बनाउनु सबैको कर्तव्य भएको बताउँदै प्रधानमन्त्रीको अठोटलाई पूरा गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे ।
प्रवक्ता कार्कीले भने, “प्रधानमन्त्रीले मुलुकको कार्यभार सम्हाल्दै गर्दा जनताको जीवन रक्षाका निमित्त खोप लगाउन बाँकी सबै नेपालीलाई चैतभित्र पूरा गर्ने अठोट गर्नुभएको थियो, त्यो प्रतिवद्धता विश्वासमा परिणत भएको छ, आज खोपको सन्त्रासबाट विस्तारै हाम्रो समाज उन्मुत्तितर्फ अगाडि बढेको छ, चैत्रभित्र सरकारले खोपसँगै आर्थिक व्यवस्था पनि गरेको छ, अब यसलाई सफल बनाउनु सबैको उत्तिकै भूमिका हुन्छ ।”
खोपका लागि बजेट पर्याप्त छ: अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले खोप अभियानलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दै नेपाली जनतालाई पूर्ण खोपको अवस्थामा पुरयाउने वित्तिकै मुलुकको आर्थिक वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री शर्माले तोकिएको समयभन्दा पहिले नै पूर्ण खोपको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिँदै खोप र अन्य सामग्रीका लागि बजेटको कुनै समस्या नभएको जानकारी दिए । उनले जनशक्तिको अभाव भएमा त्यसका लागि पनि व्यवस्थापन गरिने बताउँदै अभियान सफल पार्न प्रदेश र स्थनीय तहलाई आग्रह गरे । अभियान सफल बनाउन स्थानीय तहलाई विशेष ढंगले परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
शर्माले अभियानका लागि हालसम्म रु ३३ अर्ब २४ करोड रु पाँच लाख खर्च भएको र अहिले अभियानका लागि रु ३३ अर्ब बराबरको कोष रहेको जानकारी दिए ।
गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शैक्षिक संस्थाका शिक्षक र विद्यार्थीलगायत सबै जनतामा खोप पुरयाउने अभियानलाई अभियानकै रुपमा अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले नेपालमा ठूलो संख्याले खोप लगाए पनि कोरोनाबाट अझै मुक्त भइनसकेको बताउँदै संक्रमणमुक्त हुनका लागि स्वास्थ्य सतर्कता अपनाउँदै मापदण्ड अपनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सहरी क्षेत्रमा सन्तोषजनक खोप लगाइएको जानकारी दिँदै ग्रामीण क्षेत्रमा पनि उत्साहजनक रुपमा खोप अभियान अगाडि बढिरहेको जानकारी दिए । आगामी चैतसम्ममा लक्षित परिणाम हासिल गर्न तीव्र रुपमा काम गर्नसमेत उनले निर्देशन दिए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पूर्ण खोप सुरक्षित जीवनको अभियान भएकाले त्यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीनै तहका सरकारले सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।
कोभिड महामारीबाट जनताको जीवन बचाउनु साझा दायित्व: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।
कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा संघीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताए ।
उनले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको तर अझै पनि खोप जनताको घरदैलोमा पुग्न नसकेर धेरै मात्रामा स्टोरेज भएको जानकारी पाएको उल्लेख गर्दै खोप अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि एवं सरोकारवा जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले भने, “अहिले नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको बताइएको छ, खोप अभियानलाई तीव्रताका साथ अघि बढाउन जरुरी छ, खोपबाट जनताको जीवन बचाउनु हामी सबैको कर्तव्य हो, त्यसैले चैतसम्म सबै नेपालीलाई खोप दिने हाम्रो (सरकारको) लक्ष्य हो पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रियरूपमा लाग्न अनुरोध गर्न चाहन्छु ।”
प्रधानमन्त्री देउवाले कोभिड विरुद्धको बुष्टर डोज लगाएमा तेस्रो भेरियन्ट पनि घट्नसक्ने विज्ञले बताइरहेकाले सबैलाई पूर्ण मात्रामा खोपको सुनिश्चितता गर्न सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राजनीतिक दललगायत सबैमा अपिल गरे ।
उनले कोभिडको नयाँ भेरियन्टले बालबालिकालाई पनि जोखिममा पार्ने भनिएकाले १२ वर्षमाथिका बालबालिकालाई पनि बचाउन आवश्यक रहेकाले बालबालिकासहित सबै नागरिकलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याए ।
प्रधानमन्त्री देउवाले खोप लगाएर सुरक्षित होइन्छ भनेर खोप अभियानबारे जनतमा सचेतना फैलाएर उनीहरुलाई उत्साहित बनाउन पनि अनुरोध गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५