नेपाल जाँदा अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित
काठमाडौं । बेलायतसहित विभिन्न ६७ मुलुकबाट नेपाल जाँदा अनिवार्य रुपमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ ।
नियम लागू गरिएको भन्दै सूचना जारी गरिएको एक दिन बित्न नपाउंदै अध्यागमन विभागले अर्को सूचना नआएसम्म नियम स्थगित गरिएको जनाएको छ ।
विभागले शनिबार आफ्नो वेबसाइटमा सूचना राखेर अनिवार्य होटेल क्वारेन्टिनसम्बन्धि नियम हाललाई स्थगित गरिएको जनाएको छ ।
एक दिनमै निर्णय स्थगित गरिएको कारण भने स्पष्ट खुलाइएको छैन ।
यसअघि कोरोना भाइरसको नयाँ ’भेरियन्ट’ को जोखिम बढेको भन्दै नेपाल सरकारले धेरै मुलुकबाट नेपाल भित्रिने यात्रुलाई होटेल क्वारेन्टिन अनिवार्य बनाएको सूचना जारी गरिएको थियो ।
शुक्रबार अध्यागमन विभागले जारी गरेको सूचनामा विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको उल्लेख थियो । जसअनुसार बेलायत, अमेरिकासहित थुप्रै युरोपेली मुलुकहरूलगायत ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने थियो ।
सात दिनको होटेल क्वारेन्टिन पूरा भएपछि कोरोना परीक्षण गराउंदा नेगेटिभ नतिजा आउनेहरुले आफ्नै घरमा गएर थप सात दिन क्वारेन्टिन बस्नुपर्ने र नतिजा पोजेटिभ आउनेहरुलाई भने तोकिएका आइसोलेसन केन्द्र वा अस्पतालमा पठाइने जनाइएको थियो ।
क्वारेन्टिन नियम स्थगित गरिएसंगै हाललाई विदेशबाट जाँदा होटेल क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५