शुक्रबार, पुष २६, २०८१
23:54 | ०५:३९

साफ महिला फुटबलमा भूटानलाई हराउँदै नेपाल फाइनलनजिक

रासस डिसेम्बर १७, २०२१

काठमाडौं । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ ।

बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार भएको खेलमा भुटानलाई  ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ ।

नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १-१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अंक जोडेको छ । नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ । 

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।

यसअघि भूटानले पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

पाँचौं स्थानमा रहेको श्रीलंका लगातार तीन खेलमा हार बेहोर्दै अंकविहिन बनेको छ । श्रीलंका उपाधि होडबाट बाहिरिएको छ ।

पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू