शनिबार, माघ ५, २०८१
08:01 | १३:४६

अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या आठ लाख

रासस/सिन्ह्वा डिसेम्बर १५, २०२१

फाइल तस्बिर एपी

न्यूयोर्क २९ मङ्सिर- संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले पनि स्पष्ट गरेका छन् । मंगलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको सो विश्वविद्यालयको तथ्यांकमा बताइएको छ ।

यसरी अमेरिका यो संक्रमणबाट सबैभन्दा बढी ज्यान जाने देशमा पर्दछ । विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका छ भने अमेरिकाभित्र भने क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित हो । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य हो र यहाँका ७५ हजार ४५५ जनाको यो संक्रमणबाट ज्यान गएको पनि सो समाचारमा जनाइएको छ ।

त्यसपछि सबैभन्दा बढी प्रभावित टेक्सास ७४ हजार भन्दा बढीको ज्यान गएको छ । त्यसपछि बढी प्रभावित राज्यमा फ्लोरिडा पर्दछ । यहाँका ६२ हजारभन्दा बढीको ज्यान गएको छ ।

त्यसैगरी न्यूयोर्कमा भने ५८ हजार जना भन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारमा विश्वमा यस संक्रमणबाट भएको मृत्युको १५ प्रतिशत अमेरिकामा मात्र रहेको बताइएको छ ।

त्यसैगरी विश्वका संक्रमितहरुको १८ प्रतिशत यहाँ संक्रमित रहेका पनि बताइएको छ ।

त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोडभन्दा पनि भन्दा बढी पुगेको सो तथ्यांकमा जनाइएको छ । अमेरिकामा गएको करिब दुई महिनायता कोभिड संक्रमण घट्ने क्रममा रहेकामा पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । अमेरिकामा खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुले अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको जनाएका छन् । नोभेम्बर अन्त्यमा अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या २० प्रतिशतले बढेको बताइएको छ । अमेरिकामा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी मात्रामा संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् । उता यहाँ नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम पनि जारी छ ।

यहाँ पनि प्रत्येक दिन नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितहरु थपिँदै गएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले संक्रमितहरुमध्ये ९९ प्रतिशत डेल्टा भेरियन्टका रहेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू