कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी, गच्छदार २ मतले पराजित
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।
बुधबार मध्यरात सकिएको मतगणनाअनुसार उपसभापति पदका सात उम्मेद्वारमध्ये पहिलो र दोस्रो सर्वाधिक मत ल्याएर खड्का र गुरुङ निर्वाचित भएका हुन् ।
खड्काले २१ सय २१ र गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी बने । उनीहरुमध्ये खड्का देउवा र गुरुङ शेखर समूहका हुन् ।
देउवा समूहबाट उपसभापति पदकै अर्का उम्मेद्वार विजयकुमार गच्छदार भने १९०६ मत ल्याएर झिनो अन्तरले पराजित बने । दोस्रो बढी मत ल्याएर विजयी गुरुङसंग गच्छदारको मतअन्तर २ मात्रै छ ।
उपसभापति पदका अन्य उम्मेद्वारमा शेखर समूहका चन्द्र भण्डारीले १५ सय ८० मत पाए भने प्रकाशमान समूहकी सुजाता कोइरालाले ६ सय ४४, स्वतन्त्र उम्मेद्वार महेश आचार्यले ५ सय ८९ र विमलेन्द्र समूहकी दिव्येश्वरी शाहले १ सय ३२ मत ल्याए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदमा शेखर कोइरालालाई भारी मत अन्तरले हराउँदै वर्तमान सभापति शेरबहादुर देउवा नै पुन: निर्वाचित भएका छन् ।
उपसभापतिको मतपरिणाम घोषणापछि अब महामन्त्री पदको मतगणना शुरु गरिने जनाइएको छ । दुई महामन्त्रीमा देउवा समूहबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर समूहबाट गगन थापा र डा मिनेन्द्र रिजाल तथा प्रकाशमान समूहबाट विश्वप्रकाश शर्मा र स्वतन्त्र उम्मेद्वार राजाराम कार्की उम्मेद्वार छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५