शुक्रबार, पुष २६, २०८१
00:05 | ०५:५०

क्रिकेट कप्तान मल्लसहित चार खेलाडी कारबाहीमा, नयाँ कप्तान सन्दीप

आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही

रासस डिसेम्बर १५, २०२१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको हो ।

क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ । क्यानको अनुशासन उल्लंघनका सम्बन्धमा गठन गरिएको छानबिन समितिले सिफारिस गरेबमोजिम खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले कारबाही गरेको हो ।  

कारबाहीमा परेका चार खेलाडीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकमा सुरुआती छ महिना सहभागी नगराउने निर्णय समेत लिइएको छ । कप्तानबाट हटाइएका ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए 

नयाँ कप्तान सन्दीपले नेपाली यु १९ राष्ट्रिय टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौँ किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरिसकेका छन् । त्यस्तै उनले  इन्डियन प्रिमियर लिग (आइपिएल) देखि बिग ब्यास लिगसम्म खेलिसकेका छन्। 

यसअघि खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यवहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्लसहित केही सिनियर खेलाडीले असन्तुष्टि राखेका थिए । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरणसमेत सोधेको थियो । खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले खेलाडीलाई कारबाही गरेको हो ।

त्यसैगरी क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी पुस ६ गतेदेखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णयसमेत गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू