शनिबार, माघ ५, २०८१
23:02 | ०४:४७

कांग्रेस सभापतिका आकांक्षी आधा दर्जन बढी

रासस डिसेम्बर ११, २०२१

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराएका थिए । उनी सभागृह पुग्दा उनका समर्थक नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

उनको साथमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरू सभागृह पुगेका थिए ।

उता, नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला र विमलेन्द्र निधिले पनि सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि आजै सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गरिसकेका छन् ।

यसैबीच, उपसभापतिमा नेता महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, दिव्यश्वरी शाह र धनराज गुरुङले मनोनयन दर्ता गराएका छन् ।

महामन्त्रीमा डा महत, पौडेल, मीनेन्द्र, विश्वप्रकाश र गगनको उम्मेदवारी 

महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरु डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, गगन थापा, डा प्रकाशरण महत, डा राजाराम कार्की, प्रदीप पौडेल र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । डा महत वर्तमान सहमहामन्त्री छन् भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुन् ।

यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, देवराज चालिसे, रञ्जीत कर्ण, रामकृष्ण यादव, किशोरसिंह राठौर, कमला पन्त, जीवन परियार, विकास लामा र तेजुलाल चौधरीले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू