शुक्रबार, माघ ४, २०८१
07:27 | १३:१२

लन्डनमा बिएनसीसीले जुरायो व्यवसायीहरुको जमघट

नेपाली लिङ्क डिसेम्बर १०, २०२१

लन्डन । बेलायतस्थित नेपाली र स्थानीय व्यवसायीहरुले नेपालमा लगानीका लागि चासो व्यक्त गरेका छन् ।

नेपाल ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) ले बिहीबार बेलुका लन्डन इलिङस्थित हिल्टन होटेलमा आयोजना गरेको एक समारोहमा व्यवसायीहरुले उपयुक्त समयमा नेपालमा लगानीको प्रतिवद्धता जनाए ।

प्रमुख अतिथी लन्डनस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनालले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड रहेको, त्यहां धेरै अवसर भएको र सरकारले पनि सहज वैदेशिक नीति बनाएको बताउंदै व्यवसायीलाई प्रेरित गरेकी थिइन् ।

खनालले कोभिड महामारीपछि खस्किएको नेपालको पर्यटन उकास्न पनि बेलायतका व्यवसायीको भूमिका उल्लेख्य हुने बताइन् ।

‘हामीले नेपाल विपत्तिमा परेका बेला आर्थिक सहयोग 
गर्नेमात्र होइन्, बेलायती तथा नेपाली व्यवसायीलाई लगानीका लागि पनि प्रेरित गरिरहेका छौं’, बिएनसीसी अध्यक्ष डा. कपिल रिजालले भने ।

कोभिडका कारण अहिले हरेक व्यवसायमा असहज परिस्थिति आएपनि आफूहरुको प्राथमिकता नेपालको आर्थिक समृद्धि नै रहेको रिजालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथी तथा बेलायती सांसद जेन हन्टले बेलायत नेपालबीच सदियौं लामो सम्बन्धबारे चर्चा गर्दै ब्रिटेनले नेपालको विकास र समृद्धिमा सधैं साथ दिने प्रतिवद्धता जनाइन् ।

बेलायतले नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सहयोग गरेको स्मरण गर्दै हन्टले नेपाली समुदायले पनि बेलायतमा धेरै सहयोग गरेको उल्लेख गरिन् ।

बिएनसीसी अध्यक्ष डा कपिल रिजालको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष विराज भट्टले सञ्चालन गरेका थिए ।

विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

उक्त क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित भएका छन् ।

बिएनसीसीले बेलायतमा मिडिया, पर्यटन, कला संस्कृति लगायत क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष शिव भण्डारी, निवर्तमान सचिव डा जगन कार्की, तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, चर्चित गायक तथा डिजे सपनकुमार राई, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, बिसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, नवीन गुरुङ, पासापुच यूके अध्यक्ष ओजेश सिंह र फोटोग्राफर-डिजाइनर सुमन श्रेष्ठ छन् ।

उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि कार्यवाहक राजदूत खनाल र बिएनसिसी अध्यक्ष डा. रिजालले सम्मानपत्रसहित सम्मान गरेका थिए ।

सो अवसरमा विभिन्न खेल र नाचगान समेत गरिएको थियो ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू