शुक्रबार, माघ ४, २०८१
07:18 | १३:०३

बेलायतमा एकैदिन ५८ हजार बढी संक्रमित, थप ४४८ मा ओमिक्रोन

नेपाली लिङ्क डिसेम्बर १०, २०२१

लन्डन । बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । गएको २४ घन्टामा झन्डै ६० हजार संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् । यो संख्या गत जनवरी यताकै धेरै हो । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ ।

यसैगरी पछिल्लो समयमा ‘घातक’ मानिएको नयाँ भेरिएन्ट ‘ओमोक्रोन’ संक्रमण पनि दैनिक रुपमा बढ्दै गइरहेको छ । डेल्टा भाइरस भन्दा तीव्र रुपमा ओमिक्रोन संक्रमण बढ्ने गरेको यूके हेल्थ सेक्युरिटी एजेन्सीले बताएको छ । पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसंगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ८३९ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ४१३ छ । यस्तै नौ सय  संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ६६ हजार ५४० डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १२ लाख ७ हजार ४९६ जना अर्थात ८९ प्रतिशतले खोपको पहिलो र चार करोड ६६ लाख ७४ हजार ६१ जना अर्थात ८१.२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी खोपको तेस्रो अर्थात बुस्टर डोज लगाउनेको संख्या दुई करोड २१ लाख ८४ हजार ९८३ अर्थात ३७.६ प्रतिशत छ । पछिल्लो २४ घन्टामा चार लाख ६९ हजार भन्दा बढीले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू