ओस्लोमा क्रिसमस भोजमा सहभागी कम्तीमा १७ व्यक्तिलाई ओमिक्रोनको आशंका
ओस्लो, १७ मङ्सिर– गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड-१९ संक्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन् ।
पार्टी जानेहरूमध्ये कोभिड संक्रमण पुष्टि भएका अन्य व्यक्तिमा पनि ओमिक्रोन भाइरस देखिने सम्भावना भएकोले ओमिक्रोन संक्रमित बढ्ने सम्भावना देखिएको छ ।
ओस्लो नगर प्रशासनले भनेको छ, “अहिलेसम्म पीसीआर परीक्षण भएका ६० र एन्टिजेन परीक्षण गरिएका अन्य चार जनालाई कोभिड संक्रमण पुष्टि भएको छ ।”
“१७ जनामा ओमिक्रोन संक्रमणको प्रबल सम्भावना छ तर त्यो अझै पक्का भएको छैन् । अहिलेसम्म एक जनालाई ओमिक्रोन भएको पुष्टि गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
भोजमा सहभागी करिब १२० जनामध्ये सबैले खोप लगाएको बताइएको छ । संक्रमितमध्ये केही व्यक्ति हालै दक्षिण अफ्रिका यात्रा गरेका पनि बताइएको छ । उनीहरू गत शुक्रबार आफ्नो मालिकद्वारा आयोजित क्रिसमस भोजमा सहभागी भएका थिए ।
नगर स्वास्थ्य अधिकारी टिन राभ्लोले एएफपीसँग भने, “उनीहरू सबैलाई खोप लगाइएको थियो, तिनीहरूमध्ये कसैलाई पनि जटिल लक्षणहरू थिएनन् र तिनीहरू सबैले आफैं परीक्षण गरेका थिए । भोज लगायत सबै कुरा कोभिड कानून अनुसार गरिएको थियो र कुनै नियम भंग गरिएको थिएन ।”
संक्रमण देखिएका व्यक्तिमा सामान्य अहिलेसम्म टाउको दुख्ने, घाँटी दुख्ने र खोकी लाग्ने जस्ता हल्का लक्षण मात्र देखा परेका राभ्लोले बताए । कुनै-कुनै परीक्षणहरूमा जाँच गरेपछि ओमिक्रोनको शंका उत्पन्न भयो यद्यपि सबैको पूणर्तया विश्लेषण गरिएको छैन । यसको अर्थ पुष्टि गरिएका घटनाहरूको सङ्ख्या बढ्न सक्छ ।
बिहीबार ओमिक्रोम संक्रमणको शंकास्पद घट्ना देखा परेपछि नर्वे सरकारले ग्रेटर ओस्लोमा धेरै प्रतिबन्धको घोषणा गरेको छ र यो आजै मध्यरातदेखि लागू गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५