शनिबार, माघ ५, २०८१
10:15 | १६:००

भारतमा पनि भेटियो ओमिक्रोन

रासस-एएनआई डिसेम्बर २, २०२१

नयाँ दिल्ली–कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण भारतमा पनि पुष्टि भएको छ ।

भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् ।

“एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट संक्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिए ।

उनीहरू सबैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहसचिव अग्रवालको भनाइ छ ।

उनले अन्य कोरोनाभाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पारे ।

अहिले विश्वभरका २९ देशमा ओमिक्रोनका संक्रमितहरु भेटिएको र उनीहरुको संख्या अहिलेसम्म ३७३ पुगेको पनि उनले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोनको संक्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ ।

सुरुमा बी.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो ।

यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूणर् भाइरस भनेपछि विश्वभर नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए ।

अहिले विश्वभरका दर्जनौं देशले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू