बिहीबार, मंसिर १३, २०८१
15:36 | २१:२१

तालिवानद्वारा १०० पूर्व सुरक्षाकर्मी वेपत्ता

रासस/एएफपी डिसेम्बर १, २०२१

तस्बिर एपी

काबुल, १५ मङ्सिर– तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको मानव अधिकारवादी समूह (ह्युमन राइट वाच) ले बुधबार जनाएको छ ।

सबै सरकारी अधिकारीहरूलाई क्षमा दिई उनीहरूको सहयोग लिएर अघि बढ्ने बताएको करिब १०० दिनमा आफ्नो समूहविरूद्ध तत्कालिन सरकारलाई सहयोग गरेको आरोपमा १०० भन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या गरेको उक्त मानवअधिकारवादी समूहले जानकारी गराएको हो । उनीहरूको निशानामा विपक्षी निकट देखिने सर्वसाधारण पनि पर्ने गरेको बताइएको छ ।

समूहले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ । यद्यपि तालिवान प्रवक्ताले जारी एक विज्ञप्तिमा आफ्नो समूहले पूर्व सुरक्षाकर्मीलाई लक्षित गरी कारबाही गरेको भन्ने समाचारहरू सत्य नभएको बताएका छन् ।

तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीको सरकार पदच्युत गरेको थियो । तालिवानको पुनः उदयपछि अफगानिस्तानमा विगत २० वर्षदेखि रहेको अमेरिकी सेनाले काबुल छोडेको थियो ।

पूर्वसरकारका सुरक्षाकर्मीलाई आममाफी दिइने बताए पनि उनीहरुमाथिको शृंखलाबद्ध हमला रोकिएको छैन् । तालिवानले ठूलो संख्यामा प्रहरी र सर्वसाधारणको हत्या गरेको थियो ।

सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलो नरसंहार मच्चाएको थियो । उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताको हत्या गरेको थियो ।

वाचले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिवानले सत्ता सम्हालेपछि निरन्तर विरोधीलाई निशाना बनाएको उल्लेख छ । वाचका अनुसार तालिवानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीको हत्या गरेको छ। तालिवानले कारबाहीको सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकाले उनीहरुको पनि हत्या भएको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू