शनिबार, माघ ५, २०८१
01:52 | ०७:३७

योगगुरु रामदेवलाई पर्यटन दूत बन्न आग्रह

रासस नोभेम्बर २१, २०२१

पशुपतिनाथ मन्दिर परिसरमा आइतबार आयोजित योग शिविरमा योगगुरु रामदेव बाबा र पतन्जलि योगपीठका आचार्य बालकृष्णसँग योगा सिक्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री प्रेमबहादुर आलेलगायत सहभागी । तस्बिर-विमलबहादुर विष्ट, रासस

काठमाडौं । नेपाल सरकारले भारतीय योगगुरु रामदेवलाई पर्यटन दूतका रुपमा अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गरेका हुन् ।

मन्त्रालयद्वारा आज पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्दै मन्त्री आलेले योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटनदूत बन्न आग्रह गरे । मन्त्री आलेको आग्रहपछि योगगुरु रामदेवले नेपाल संसारकै अदितीय पर्यटकीय गन्तव्य भएको र आफू पर्यटन दूत हुन पाउनु गौरवको विषय भएको बताए । उनले भने, “नेपाल सरकारको पर्यटन दूत बन्न गरिएको आग्रहलाई उचित समयमा औपचारिक रुपमा ग्रहण गर्ने छु, दूत हुन पाउनु मेरो गौरवको विषय हो ।”

उक्त शिविरकै अवसरमा मन्त्री आलेले योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पशुपति नाथको दर्शन समेत गराएका थिए । मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मानसमेत गरे ।

उक्त योग शिविरमा पूर्व अर्थराज्यमन्त्री लार्के लामा, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्रालयका उच्च अधिकारी र सयौँ योग साधकको उपस्थिति थियो ।

योगशिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू