नेपाललाई आइकाओको कालो सूचीबाट हटाउन पहल
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन् ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाल अहिले पनि आइकाओको कालो सूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवद्र्धन गर्नका लागि पहल भइरहेको बताए । उनले भने, “बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिट्टै हटाउन भनेको छु । नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु ।” सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहँदै आएको छ ।
मन्त्री आलेले भारतका मुख्य सहरहरुमा थप उडान भर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, “भारतीय र नेपाली नागरिकबाहेक अन्य आवतजावतको वातावरण थिएन, अहिले एयर बबल हटेको छ ।” अब छिट्टै बैंङलोर, कलकत्ता, मुम्बई, चेन्नाईलगायतका सहरमा पनि उडान नियमित हुने उनको भनाइ थियो ।
कोरोना त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको विकास हुन नसकेको उनले बताए । कोभिड पूरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने विषय छलफलमै रहेको उनले उल्लेख गरे । सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो ।
फरक प्रसंगमा बोल्दै उनले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५