शुक्रबार, माघ ४, २०८१
19:41 | ०१:२६

एनआरएनए यूकेको १०० दिन पूरा

नेपाली लिङ्क नोभेम्बर २१, २०२१

शेष घले

लन्डन । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले कुनै पनि संस्थामा निस्पक्षता हुनु पर्ने बताएका छन्। गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) नयां कार्यसमितिले १०० दिन पूरा गरेको अवसरमा शनिबार अल्डरसटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै घलेले संस्था निजी, राजनीतिक वा सामाजिक जस्तो सुकै भए पनि त्यसमा निष्पक्षता हुनु पर्ने र सबै सदस्यप्रति समान व्यवहार गरिनु पर्ने बताए । संस्थामा थिति वा पद्धति बसाल्न पनि त्यत्तिकै महत्वपूर्ण रहेकोमा उनले जोड दिए ।
पूर्व अध्यक्ष घलेले विधान भन्दा माथि कोहि पनि नरहेको भन्दै सबैले विधानको पालना गर्नु पर्नेमा जोड दिए। उनले कुनै पनि व्यक्ति उक्त संस्थाको नियम र पद्धति भन्दा माथि नहुने भन्दै त्यो कुरा सबैले बुझ्नु पर्ने बताए । उनले एनआरएनए एउटा संजाल हो भन्दै छोटो समयमा एनआरएनए यूकेले गरेका कामहरु अरु एनसीसीहरुका लागि पनि उदाहरणको रुपमा रहने धारणा व्यक्त गरे ।
समारोहलाई सम्बोधन गर्दै एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्यले संघमा विभिन्न बहानाबाजी बनाएर अक्टोबरमा गर्नुपर्ने अधिवेशन र चुनाव सार्ने काम गरिएको जनाए। ‘हामी भोलि नै चुनाव गरे पनि तयार छौं, तर कसैलाई जिताउन वा हराउनका लागि गरिएको बहानाबाजीबाट हामी सचेत हुनुपर्छ’, उनले भने ।
सन् २०२१–२३ का लागि केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षा, सुरक्षित वैदेशिक रोजगार जस्ता सवालहरुमा नेपाल सरकारसंग मिलेर काम गर्नु पर्ने बताउदै सरकारसंग निहुँ खोज्ने काम गर्न नहुने पनि जनाए ।
‘अहिले परराष्ट्र मन्त्रालयलाई बेवास्ता गर्ने, निहुँ खोज्ने काम भै रहेको छ, त्यो ठिक होइन’, आचार्यले भने । ‘अहिले पनि छलफल भयो, सहमति भयो भनेर झुक्याउने काम भएको छ। व्यक्तिगत स्वार्थ पुरा गर्न संस्था प्रयोग नहोस्’, उनले चेतावनी दिंदै भने।
उनले गैर आवासीय नेपालीहरुका १८ वर्ष देखि थाती रहेका मुद्दालाई तार्किक निष्कर्षमा पुराउन आफूले उम्मेदवारी दिएको स्पष्ट परे।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनार, यति एसोसियसन यूकेका अध्यक्ष ध्रुव केसी, लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, वाटर एड यूकेका डा. ओम गौतम लगायतका वक्ताले शुभकामना दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि घलेले एनआरएनए यूकेका नवनियुक्त प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण पनि गरेका थिए । महासचिव खुशी लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष नारायण कंडेलले स्वागत मन्तव्य दिएका थिए । तस्बिर- मिलन तमु  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू