शुक्रबार, माघ ४, २०८१
19:41 | ०१:२६

एनआरएनए १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर १९ र २० मा

संघको नयां नेतृत्वका लागि निर्वाचन डिसेम्बर १५ तारिख

नेपाली लिङ्क नोभेम्बर १९, २०२१

लन्डन  । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर १९ र २० मा हुने भएको छ । संघको आन्तरिक विवादका कारण गत महिनाका लागि तय गरिएको एनआरएनए १० औं महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो ।

संघका अध्यक्ष कुमार पन्तले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् । विज्ञप्तिमा संघको निर्वाचनका लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।

संघको नयां नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्का र अध्यक्ष पन्तबीच भएको छलफल निष्कर्षमा पुगेपछि महाधिवेशनको टुंगो लागेको हो ।

प्रेस विज्ञप्ति जस्ताको तस्तैः 

गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको सर्वविदितै छ ।

विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएका छन् ।

केहि समय अगाडि म समेत संलग्न भएको बार्तामा परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाधिवेशनको बारेमा घनिभूत छलफल भएको थियो ।

संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको थियो ।

संघले प्रस्तुत गरेको मार्गचित्रमा माननीय मन्त्री ज्यूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा  १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिनेछ तथा संघको नयां कार्यसमितिको नेतृत्वका लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ ।

महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई आजै बुझाइने छ । संघको निर्वाचनका लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्दछौं ।

धन्यवाद

कुमार पन्त,

अध्यक्ष, गैरआवासीय नेपाली संघ

१९ नोभेम्बर, २०२१

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू