बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ मंसिर ५ देखि
लण्डन-बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतहरुको संसदीय सुनुवाइ मंसिर ५ गतेदेखि शुरु हुने भएको छ।
संसदीय सुनुवाइ समिति सचिवालयका सचिव ध्रुव प्रसाद घिमिरेले प्रस्तावित राजदूतहरुको सुनुवाइ ५ गतेदेखि शुरु हुने र बिहान ११ बजेदेखि दिनभर सुनुवाई समितिको बैठक चल्ने जानकारी दिए ।
गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि डा. शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गरेको थियो।
प्रस्तावित राजदूतबारे कुनै उजुरी नपरे पनि राजदूत सिफारिस समावेशी नभएको एउटा गुनासो समिति सचिवालयमा दर्ता भएको जनाइएको छ।
संसदीय सुनुवाइबाट अनुमोदित भएपछि परराष्ट्र मन्त्रालयले प्रस्तावित राजदूतका नाम सम्बन्धित मुलुकमा सहमतिका लागि पठाउनेछ। ती मुलुकको सहमतिपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नियुक्त गर्नेछिन्।
प्रस्तावित तीनै राजदूत कूटनीतिक ज्ञान र अनुभव भएका व्यक्ति हुन्। विगतमा उनीहरु मुलुकको परराष्ट्र सम्बन्ध सञ्चालनमा प्रत्यक्ष संलग्न भइसकेका छन्।
बेलायतका लागि राजदूतमा सिफारिस ज्ञानचन्द्र आचार्य पूर्व परराष्ट्र सचिव (सन् २००७ देखि सन् २००९) हुन्। आचार्य सन् २०१२ देखि सन् २०१७ सम्म संयुक्त राष्ट्रसंघीय उपमहासचिव बनेका थिए।
२९ वर्ष नेपालको परराष्ट्र सेवामा बिताएका आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्यूयोर्कमा सन् २००९ देखि सन् २०१२ सम्म स्थायी प्रतिनिधि थिए।
उनी सन् २००३ देखि सन् २००७ सम्म संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग जेनेभामा स्थायी प्रतिनिधि थिए। उनले सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए।