शनिबार, माघ ५, २०८१
05:13
|
१०:५८
मुख्यमन्त्री राईले पाए विश्वासको मत
रासस
नोभेम्बर १७, २०२१
विराटनगर–प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले) का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए ।
गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र) का १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टी नेपालका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक सदस्यले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम मुख्यमन्त्री राईले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गर्दै सभामा सहभागी सबै राजनीतिक दलका सदस्यसंग पक्षमा मत मागेका थिए ।
मुख्यमन्त्री राईले राजनीतिक परिस्थितिले संविधान र जनताका अधिकारलाई कमजोर बनाउने काम भएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्दै परिवर्तनको सम्वाहक यो सरकारले संविधानको रक्षा गर्ने कुरामा जोड दिए ।
विश्वासको मत प्रस्तावमा छलफल
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जिद्धी स्वभावले नै नेकपा एमालेको दुई तिहाइ बहुमतको सरकार गुमेको चर्चा गर्दै राजनीतिक परिवर्तन भए पनि राजनीतिक दलका नेतामा चेतना वृद्धि नभएको बताए ।
उनले वर्तमान गठबन्धन संविधान रक्षाका लागि भएकाले मुख्यमन्त्रीमा राईलाई विश्वासको मत दिएको बताए । नेता कोइरालाले यो गठबन्धनले निरन्तता पाउने विश्वास पनि व्यक्त गरे ।
एमालेका तर्फबाट प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले एमाले सहमति र सहकार्यको विरोधी नभएको बताए । उनले लोकतन्त्रलाई सुदृढीकरण र बलियो बनाउन राजनीतिक दलमा पनि सुदृढीकरण हुनुपर्ने तर्क गर्दै एमाले सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा रचनात्मक ढंगले प्रस्तुत हुने धारणा राखे ।
प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५