‘रिमेम्बरेन्स सन्डे’ मा भ्याई नभ्याई मेयर विष्णु गुरुङ (फोटो फिचर)
लन्डन । नोभेम्बर १४ आइतबारका दिन बेलायतका विभिन्न स्थानमा ‘रेमेम्बरेन्स सन्डे’ मनाइयो । बेलायतसहित कमनवेल्थ देशमा विश्वयुद्धपछि दिवंगत सैनिकहरुको सम्झनामा प्रत्येक वर्ष ११ नोभेम्बरलाई ‘रिमेम्बरेन्स डे’ अर्थात ‘पप्पी डे’ को रुपमा मनाउने गरिन्छ । तर, प्रत्येक वर्ष नोभेम्बरको दोस्रो आइतबारलाई भने ‘रिमेम्बरेन्स सन्डे’ को रुपमा मनाइन्छ ।
लन्डन हन्स्लो बरोको ५६ औं मेयरमा निर्वाचित नेपालीमुलका पूर्व गोर्खा विष्णुबहादुर गुरुङको ‘रिमेम्बरेन्स सन्डे’ दिनभर नै व्यस्त रह्यो । स्थानीय बरो अन्तर्गतका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएर मेयर गुरुङले रिथ अर्पण गरे ।
कार्यक्रममा एमपी, मेयर, काउन्सिलर लगायतको उपस्थिति थियो । हन्स्लो काउन्सिलस्थित सर्भिस अफ रिमेम्बरेन्स होली ट्रिनिटी चर्च अगाडि भएको कार्यक्रममा आयरिस गार्ड, गोर्खा भेट्रान्स, स्थानीय क्याडेट फोर्स, रोयल ब्रिटिश लिजन र एशियन एल्डर्सले सैन्य परेड गरेका थिए ।
यसैगरी फेल्थम हाइस्ट्रिटस्थित ‘फेल्थम वार मेमोरियल’ मा दिउँसो २:३० बजेबाट कार्यक्रम शुरु गरिएको थियो । दुई विश्व्वयुद्धमा ज्यान गुमाएकाहरुको सम्झनास्वरूप हरेक वर्ष आयोजना गरिने उक्त कार्यक्रममा एमपी सीमा मलहोत्रा, मेयर विष्णु गुरुङ, एन्नी डोलेरी, परेड मार्शल जोन वेथर लगायतका विभिन्न व्यक्तिहरुले युद्ध स्मारकमा ‘रिथ’ चढाएका थिए ।
समारोहमा युद्धमा वीरगतिप्राप्त सैनिकहरुको सम्मान एवम् सम्झनास्वरूप मौनधारण गरिएको थियो । भूपू गोर्खाहरुकासाथै स्थानीयको पनि सहभागिता थियो । प्रथम विश्वयुद्धको समापनसंगै युद्धमा लडेका र वीरगति प्राप्त गरेका सैनिक योद्धाहरूप्रति सम्मान व्यक्त गर्न यो दिवस मनाउन थालिएको हो । दुई विश्वयुद्धमा बेलायती साम्राज्यको रक्षार्थ धेरै गोर्खाहरुले पनि बलिदानी गरेका छन् ।
भिडियोमा हेर्नुहोस्