सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको देउसी भैलो (भिडियोसहित)


लन्डन । सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रम गरेको छ । पछिल्लो समय नेपालका विभिन्न मौलिक चाडपर्वलाई विदेशमा निकै महत्वकासाथ हेरिंदै आएका बेला संस्थाले कार्यक्रम गरेको हो ।
नेपालीको पुरख्यौली संस्कारको रूपमा परम्परागत रुपमा मानिंदै आएको तिहारलाई नेपालभित्र मात्रै सीमित नगराइ विश्वभर परिचित गराउनुका साथै यस्ता चाडलाई भावी पुस्तामा पनि पुस्तान्तरण गर्नुपर्ने मान्यता राख्दै संस्थाका एक दर्जनबढी सदस्यले कार्यक्रममा सहभागिता जनाएका थिए ।
समाजका अध्यक्ष माधव पराजुलीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा समाजका सक्रिय सदस्यहरू तथा कार्यकारी समिति सदस्यहरू याम राना, सविता गिरी, गोविन्द महत, अर्कराज तिमसिना, डा. नारायण भट्टराई, विनोद न्यौपाने, चन्द्र कार्की, विमल अधिकारी, रमेश दाहाल, दिप गिरी, प्रणिता पराजुली लगायतको उपस्थिति थियो ।
देउसी कार्यक्रम तिहारको एउटा अभिन्न पाटोका रूपमा नेपाली हिन्दू धर्मावलम्बीमाझ निरन्तरता पाउंदै आएको समाजशास्त्री दिनेश पौड्यालले कार्यक्रमको शुरुवातमा बताएका थिए ।
त्यसै गरि रमेश दाहालले तिहारको शुभकामना व्यक्त गरे भने चन्द्र कार्कीले देउसीको आशिषमा सुरीलो भाका हालेका थिए ।
कार्यक्रममा सहभागी अन्य सदस्यहरुले सक्रिय रूपमा देउसीलाई परम्परागत भाका हालेर प्रस्तुत गरेका थिए ।
समाजका कोषाध्यक्ष गोविन्द महतको निवासबाट सांझ ५ बजे आरम्भ गरिएको देउसी भैलो कार्यक्रम समाजका सक्रिय सदस्य दिनेस पौड्यालको निवासमा राती १० बजे समापन गरिएको थियो ।
पौराणिक कालमा देवता तथा दानवहरूको संग्रामको परिणाम स्वरूप देवताहरूले ठूलो क्षति व्यहोर्नु परेको र दानवहरूबाट त्राही त्राही भइ भगवान विष्णुको शरण पर्नु परेको इतिहास छ । विष्णु भगवान स्वयंले पनि दानवहरूसंगको संग्रामबाट ठूलो क्षति व्यहोर्नु परेकाले दानवहरूसंग अन्तिम तथा निर्णायक युद्द लड्नका लागि आर्थिक श्रोत (श्री) जुटाउन त्यसबेलाका कहलिएका दानवीर बलिराजासमक्ष पुगेका थिए ।
उनै बलिराजाले आफनो सम्पतिको केहि अंश विष्णुलाई दान गरि श्रीवृद्धि गरेको तथा पाताल लोकवासी सम्पूर्ण जनजनमा आफनो सम्पत्तिको केहि हिस्सा दान गरी श्री वृद्धि गर्न आव्हान गरेको किंवदन्ती अनुरुप आजसम्म पनि देऊ श्री भन्दै खेलिने गरिन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५