नोबेल पुरस्कार विजेता मलालाको बैवाहिक जीवन सुरु
लण्डन–२४ कात्तिक– नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गरेकी छन् ।
छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विहे गरेकी हुन् ।
उनले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बर्मिङ्घममा भएको जानकारी दिएकी छन् ।
तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी उनी अहिले बेलायतमा बस्दै आएकाले बेलायतमा बैवाहिक कार्यक्रम भएको हो । सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षीया मलालाले सबैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छन् ।
“मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।
इस्लामिक परम्पराअनुसार बिवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उनले अहिले निकाह गरेकी हुन् । यसको कानुनी हैसियत भने रहंदैन । महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुदै सन् २०१२ मा १५ वर्ष उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए ।
पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीन जना घाइते भएका थिए । त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाइन् ।
उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरुमध्ये सबैभन्दा कान्छी हुन् । उनले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छन् भने विश्वभर मानवअधिकारकर्मीको पहिचान बनाएकी छन् ।