नेपालमा थप ४४० जनामा संक्रमण पुष्टि
काठमाडौँ–पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले छ हजार ८१४ मा नमुना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको जानकारी दिए । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित सात हजार ५१९ रहेको उनले बताए । नेपालमा संक्रमण दर १८.२ प्रतिशत पुगेको छ ।
प्रवक्ता पौडेलका अनुसार ५०० भन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।
संक्रमित शून्य जिल्ला दुई
पौडेलले आज संक्रमित शून्य रहेका जिल्ला दुई रहेको बताए । उनका अनुसार हुम्ला र मुगुमा संक्रमित सङ्ख्या शून्य छ । पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमण मुक्त लिई घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ७८० छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार कोरोना संक्रमणबाट आज छ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ४६० को मृत्यु भएको छ । मंगलबार एक जनाको मृत्यु भएको थियो ।
होम आइसोलेसशन सात हजार पाँच, संस्थागत आइसोलेशनमा ५१४, सघन उपचार कक्ष (आइसियू) मा १८९ र भेन्टिलेटरमा ५३ जना छन् । यस्तै आज १६ हजार ५२९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै हालसम्म ८७ लाख ५० हजार ९६० ले पहिलो मात्रा र ७४ लाख ८२ हजार १९५ ले पूर्ण मात्राको खोप लगाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५