शुक्रबार, माघ ४, २०८१
19:18 | ०१:०३

क्षेत्री समाज बेलायतले खेल्यो देउसी भैलो (भिडियोसहित)

स्तन क्यान्सर पीडित महिलालाई सहयोग गरिने

नेपाली लिङ्क नोभेम्बर ९, २०२१

लन्डन । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा क्षेत्री समाज बेलायतले ‘परम्पराको निरन्तरता, सामाजिक हितका लागि सहयोगको आवश्यकता’ भन्ने नारासहित देउसी भैलो कार्यक्रम गरेको छ । धार्मिक  तथा सामाजिक परम्परालाई निरन्तरता दिंदै सामाजिक हितका लागि उक्त देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।

समाजकी उपाध्यक्ष श्रद्दा थापाको संयोजकत्वमा आयोजना गरिएको देउसी भैलो कार्यक्रम साउथ इष्ट लन्डनस्थित सह- कोषाध्यक्ष अन्जना थापाले आफ्नै निवासस्थानमा  व्यवस्थापन गरेकी थिइन् । कोरोना महामारीका कारण देउसी भैलो कार्यक्रम घरदैलोमा नगई  भर्चुअल माध्यमबाट गरिएको थियो ।

क्षेत्री समाजका अध्यक्ष यज्ञ क्षेत्रीले तिहारको धार्मिक महत्व र प्रवासमा आधुनिक देउसी भैलोको भूमिकाबारे उल्लेख गरेका थिए । धार्मिक र सामाजिक परम्परालाई निरन्तरता दिंदै जानु हाम्रो कर्तव्य भएकाले भावी पुस्तामाझ पनि यस्ता नेपाली मौलिक चाडपर्वको बारेमा जानकारी दिलाउन आवश्यक रहेको क्षेत्रीले बताए ।

कार्यक्रममा जनसम्पर्क सचिव दिल जिसी, सह-कोषाध्यक्ष  अन्जना थापा, महिला संयोजक माया केसी, सम्झना महत, चन्द्र कार्की, गोविन्द महत तथा गायक दीपक थापाले भट्टयाएका थिए । देउसी भैलोका साथै दीपक थापा र अमित मगरले विभिन्न खालका नेपाली गीत गाएर मनोरञ्जन गराए ।

उक्त देउसी भैलो कार्यक्रममा समाजका विभिन्न व्यक्तिहरुले आर्थिक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । हालसम्म करिव पांच लाख रुपैयाँ प्रतिवद्धता भैसकेको समाजका कोषाध्यक्ष मनिष खड्काले जानकारी दिए ।

कार्यक्रमबाट संकलित रकममध्येबाट केहि रकम लम्जुंग निवासी क्यान्सर पीडित महिला ज्ञानु ढुंगेललाई सहयोग गरिने र बाँकी रकम समाजको आपतकालीन कोषमा राखिने क्षेत्री समाज बेलायतले बताएको छ । स्तन क्यान्सरबाट ग्रसित १२ सन्तानकी आमा ढुंगेलको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न असमर्थ भएपछि क्षेत्री समाज बेलायतले केहि रकम सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।

क्षेत्री समाज बेलायतले आपतविपदका बेला यसअघि पनि नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू