एनआरएनए इंग्ल्यान्डका निवर्तमान र नयाँ समितिबीच गरियो बुझबुझारथ
लन्डन । एनआरएनए यूके इंग्ल्यान्ड राज्य समन्वय परिषदको नवनिर्वाचित र निवर्तमान कार्यसमितिहरुबीचको बुझबुझारथ तथा हिसाबकिताब हस्तान्तरण गरिएको छ ।
आइतबार बेलुका लन्डनको बार्किङस्थित ‘द स्पटेड डग पब एन्ड रेष्टुरेन्ट’ मा आयोजित एक कार्यक्रमबीच दुई समितिबीच ह्यान्डोभर-टेकोभर सम्पन्न भएको हो ।
त्यसक्रममा इंग्ल्यान्ड राज्य समन्वय परिषदको निवर्तमान कार्यसमितिका अध्यक्ष दीपक श्रेष्ठ र नवनिर्वाचित समितिका अध्यक्ष एलबिजेड गुरुङले बुझबुझारथ पत्रमा हस्ताक्षर गरेका थिए । निवर्तमान समितिका तर्फबाट संस्थाका सम्पूर्ण हिसाबकिताब र खातापाता समेत नयाँ समितिलाई हस्तान्तरण गरिसकिएको बताइएको छ।
कार्यक्रममा निवर्तमान समितिका अध्यक्ष दीपक श्रेष्ठले नयाँ समितिलाई बधाई, शुभकामना दिंदै आवश्यक सहयोगको प्रतिवद्धता पनि गरे । परिषदका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले आफू नेतृत्वको पहिलो कार्यकालमा संस्थाको जग बसाउन हरसम्भव कोशिश् गरेको सुनाए ।
‘हाम्रो कार्यकालमा संस्थाको जग बसाउने काम भएको छ । अब थप काम र नतिजा देखाउने जिम्मेवारी नयाँ समितिको काँधमा आएको छ’, श्रेष्ठले भने ।
संस्थापनकालदेखि नै संस्थालाई बुझेका र योगदान गरेका अघिल्लो कार्यसमितिका उपाध्यक्ष एलबिजेड गुरुङकै नेतृत्वमा निर्वाचित नयाँ समितिले संस्थाको उचाई बढाउने गरी काम गरेर देखाउने आशा उनले व्यक्त गरे ।
त्यसअवसरमा वर्तमान समितिका अध्यक्ष एलबिजेड गुरुङले संस्थापक समितिका तर्फबाट भएको सम्पूर्ण योगदानका लागि निवर्तमान कार्यसमिति र अध्यक्ष दीपक श्रेष्ठप्रति आभार प्रकट गरे ।
‘संस्थापन कार्यसमितिमै रहेर काम गर्नु पक्कै चुनौतिपूर्ण थियो । सबै कुरा नयाँ रहेकाले हरेक कार्यको लागि आधारहरु तयार गर्नुपर्ने थियो’, निवर्तमान समितिमा उपाध्यक्ष रहेका गुरुङले भने, ‘तर पनि हाम्रो टीमले एकबद्ध भएर सक्दो राम्रो गर्ने कोशिश् गर्यौं । फलस्वरूप पहिलो कार्यकालमै पनि कयौं राम्रा कामहरु पूरा गर्न सक्यौँ ।’
इंग्ल्यान्ड राज्य समन्वय परिषदले एनआरएनए यूकेलाई ग्रासरुटसम्म पुर्याउने माध्यमका रुपमा काम गर्ने अध्यक्ष गुरुङले बताए ।
त्यसअवसरमा परिषदका निवर्तमान समितिका कोषाध्यक्ष ध्रुवहरि बाँस्कोटाले हिसाबकिताबसम्बन्धि जानकारी प्रस्तुत गरेका थिए । दुई वर्षे कार्यकालमा भएका गतिविधि र कार्यक्रमहरुबारे निवर्तमान समितिका सचिव गोविन्द खरेल र सहसचिव कृष्ण वैधले जानकारी गराएका थिए ।
हस्तान्तरण कार्यक्रममा वर्तमान कार्यसमिति सहसचिव अहिल्या कुँवर, प्रवक्ता डा विशाल गुरुङ, सदस्य बलराम सुवेदीसहितका पदाधिकारीहरु, हङकङ नेपाली मञ्च यूकेका सचिव अर्जुन शाही, व्यवसायी सुजन श्रेष्ठ, अमन गुरुङ लगायतको उपस्थिति थियो भने कोषाध्यक्ष सचिन भट्टराई, लगायतका पदाधिकारी भर्चुअल माध्यमबाट जोडिएका थिए ।