नेपालमा परोपकारी कार्यमा व्यस्त बेलायतका तीन अभियन्ता
लन्डन । बिदा मनाउन नेपाल गएका बेलायतका केही सामाजिक अभियन्ता अहिले नेपालमा परोपकारी कार्यमा व्यस्त बनेका छन् ।
एनआरएनए यूकेकी निवर्तमान उपाध्यक्ष रोजिना प्रधान राई, नवनिर्वाचित आइसीसी सदस्य महेश अधिकारी र सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुंयाल विभिन्न सामाजिक कार्यमा व्यस्त बनिरहेका छन् ।
गत मंगलबार बेलायतका यी तीन अभियन्ताहरुले काठमाडौंको टोखास्थित पवित्र सेवा आश्रम पुगेर सहयोग बांडेका छन् ।
समाजसेवी दिक्षा चापागाइंद्वारा सञ्चालित आश्रमको लागि तिहारको कोसेलीस्वरूप व्यक्तिगत तवरले आर्थिक सहायता गरिएको उनीहरुमध्येका एक अधिकारीले बताए । आश्रममा आश्रय लिएका ६० जना बढी वृद्धवृद्धा र बालबालिकालाई उनीहरुले भोजन समेत गराएका थिए ।
‘कसैको व्यक्तिगत पहलमा यति ठूलो संख्याका अनाथहरुले आश्रय र संरक्षण पाउन सकेको देख्दा निकै खुशी लाग्यो । आश्रम सञ्चालक दिक्षाजीको प्रयास र मेहनत निकै कदरयोग्य छ’, अधिकारीले भने, ‘हामीले आश्रमको अवस्था, समस्याहरुबारे पनि बुझ्ने मौका पायौं । बेलायत आएपछि योजना गरेरै केही सहयोग जुटाउन कोशिश् गर्ने सोच बनाएका छौं ।’
अधिकारी, फुयांल र प्रधानको समूहले एक दिनअघि काभ्रेको धुलिखेलमा रहेको बाल मन्दिर आधारभुत विद्यालय पुगेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
काभ्रे सोसाइटी यूकेका तर्फबाट स्थापित छात्रवृत्ति सोसाइटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका नारायण फुयांलको सहभागितामा बांडिएको थियो । त्यसअवसरमा विशेष अतिथिका रुपमा सहभागी रोजिना प्रधान राई र महेश अधिकारीले व्यक्तिगत रुपमा समेत कोषमा आर्थिक सहयोग दिएका थिए ।
लेष्टरस्थित सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष फुयांलले नेपालमा बिदा मनाउन गएका बेला केही समय सामाजिक कार्यलाई पनि छुट्ट्याउने प्रयास आफूहरुले गरेको बताए ।
रोजिहिरा फाउन्डेसनमार्फत् परोपकारी कार्यहरु गर्दै आएकी अर्की अभियन्ता रोजिना प्रधान राईले पनि आफ्नो सानो सहयोगले कसैको लागि ठूलो खुशी मिल्छ भने पछि हट्न नहुने बताइन् ।