स्कटल्याण्डको नेपाली बगैंचामा देउवाले रोपे विरुवा
लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्याण्डको इडेनबर्गस्थित रोयल बोटानिकल गार्डेनमा रहेको नेपाली बगैँचामा बुधबार भोजपत्रको बिरुवा वृक्षरोपण गरेका छन् ।
संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका अवसरमा प्रधानमन्त्री देउवा बोटानिकल गार्डेन पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका सरकार प्रमुखले सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।
प्रधानमन्त्री देउवाले मंगलबार आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षे र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता गरे ।
यसका साथै देउवाले बेलायतका रक्षामन्त्री बेन वालेस, विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टु, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की डेपुटी सीइओ एलेक्सिया लाटोर्टु, अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव किटैक लिम लगायत बेलायती तथा नेपाली समुदायका विभिन्न व्यक्तिहरुसंग भेटवार्ता गरेका थिए ।
शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा देउवाले नेपालका तर्फबाट सम्बोधन गरे । सम्मेलनमा ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गरेका थिए ।
देउवा नेतृत्वको प्रतिनिधिमण्डल बुधबार इडिनबर्ग विमानस्थलबाट कतारको दोहा हुँदै स्वदेश फर्किएको छ ।
अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।