बिहीबार, माघ ३, २०८१
16:55 | २२:४०

मोदीसंग भेटवार्तामा देउवाले मागे रासायनिक मल

रासस नोभेम्बर ३, २०२१

ग्लास्गो, १६ कात्तिक– प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन यहाँ आएका उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।

स्थानीय समयानुसार बिहान भएको मैत्रीपूर्ण भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले राससलाई जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्ने वचन दिएका छन् ।

त्यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरेका थिए । त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको बताएको सचिव पौड्यालले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजपाक्षेबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ । कोप–२६ अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन आएका उनीहरुबीच आज ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव पौड्यालले जानकारी दिए ।

दुवै देशबीच सुमधुर सम्बन्ध छ । उनीहरुबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुत बनाउनेलगायत विषयमा कुरा भएको थियो । सो अवसरमा श्रीलंकाली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र त्यसमा नेपालको सदभाव होस् भन्ने चाहना राखेको सचिव पौड्यालले बताए ।

यसैगरी दुवै देशको पर्यटनका क्षेत्रमा प्रवर्धन गर्ने र सम्बन्ध अझ मजबुत बनाउने तथा उच्चस्तरमा संवादलाई निरन्तरता दिनेलगायतका विषयमा उनीहरुबीच छलफल भएको थियो ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य आएका थिए । यही कात्तिक १४ गतेदेखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ कात्तिक २६ गतेसम्म चल्नेछ ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च अधिकारी, सञ्चारकर्मीलगायत छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू