शनिबार, माघ ५, २०८१
04:58 | १०:४३

कोभिडपछि पर्यटन पुनरुत्थानका लागि सरकारसंग माग

नेपाली लिङ्क अक्टोबर ३०, २०२१

काठमाडौं । कोभिड १९ महामारीपछि थलिएको नेपालको पर्यटन पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन व्यवसायी तथा विज्ञहरुले सरकारसंग माग गरेका छन् ।

विभिन्न व्यवसाय र क्षेत्रका व्यक्तिहरु सम्मिलित एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री प्रेमबहादुर आलेसंग मन्त्रालयमै भेट गरि कोभिड महामारीपछि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यसलाई ब्युंताउन अतिआवश्यक रहेकोमा जोड दिएका हुन् ।

व्यवसायी तथा ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री आलेसमक्ष पर्यटन क्षेत्रको अवस्थाबारे अवगत गराएको थियो । धेरै पर्यटन व्यवसाय बन्द भएका, बेरोजगारी वृद्धि, पर्यटन आगमन न्यून, विदेशी मुद्रा अभाव लगायतका समस्या उजागर गर्दै व्यवसायीले सरकारले एउटा विशेष कमिटी गठन गरि पर्यटनलाई मुर्तरुप दिन आग्रह गरेका थिए ।

प्रतिनिधिमण्डलले एउटा अधिकारसम्पन्न राष्ट्रिय पर्यटन पुनरुत्थान समिति गठन गरि तत्काल काम थाल्न आवश्यक रहेको प्रस्ताव गरेपछि मन्त्री आलेले त्यसमा सहमत जनाएका गिरीले बताए । ‘हामीले बेलैमा पर्यटन उत्थान गर्न चासो देखाएनौं भने अवस्था भयावह हुन सक्छ’, लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध गिरीले भेटघाटपछि भने, ‘मन्त्रीज्यूले हाम्रा समस्या सुनेर केही गरौं भन्नेमा चासो देखाउनुभएको छ । अब हामी सरोकारवाला बसेर विशेष कार्यक्रम ल्याउनेतर्फ छलफल गर्छौं ।’

प्रतिनिधिमण्डलमा होटल सांग्रिलाका प्रवन्ध निर्देशक प्रसिद्ध पाण्डे, काठमाडौं गेष्ट हाउस ग्रुपका अध्यक्ष सुनिल शाक्य, पर्यटनविद विक्रम पाण्डे, टर्किस् एयरलाइन्सका कन्ट्री म्यानेजर अब्दुल्लाह टन्सर केसीसी, टानकी महासचिव सरिता लामा, इत्तिहाद एयरवेजका पूर्व कन्ट्री म्यानेजर पवन श्रेष्ठ लगायत सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू