बेलायत आइपुगे प्रधानमन्त्री देउवा, हिथ्रो विमानस्थलको भिआइपी कक्षमा स्वागत
तस्विरहरु : शिव भण्डारी
लन्डन । पाँच दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आइपुगेका छन् ।
स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ‘कोप २६’ भाग लिने शिलशिलामा शुक्रबार उनी लन्डन उत्रिएका हुन् ।
बेलुका ८ बजे लन्डनको हिथ्रो विमानस्थल अवतरण गरेका प्रधानमन्त्री देउवालाई बेलायती संसदमा नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष एवम् सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल लगायतले विमानस्थलको भिआइपी कक्षमा स्वागत गरेका थिए ।
प्रधानमन्त्रीलाई स्वागत गर्न दूतावासका मिलिटरी एट्याची रत्न गोदार र समाजसेवी व्यवसायी रविजंग लामिछाने पनि विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री भ्रमण टोलीमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा प्रेमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् । बेलायतका लागि पूर्व राजदूत डा दुर्गाबहादुर सुवेदी पनि परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालका रुपमा भ्रमण टोलीमा छन् ।
पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।
लन्डनमा प्रधानमन्त्री देउवाको बसाइ लन्डनस्थित नेपाली दूतावासमा हुनेछ । उनी कोप सम्मेलनका लागि आइतबार स्कटल्यान्डको ग्लास्गोतर्फ लाग्नेछन् । केही दिन स्कटल्यान्डमै बिताएर आउंदो नोभेम्बर ३ का दिन उनी स्कटल्यान्डबाटै नेपाल फर्किनेछन् ।
कस्तो छ बेलायतमा प्रधानमन्त्रीको तालिका ?
शनिबार दिनभर र आइतबार अपरान्हसम्म प्रधानमन्त्री देउवा विभिन्न भेटघाटमा व्यस्त रहनेछन् ।
शनिबार बिहानदेखि नै लन्डन दूतावासमा प्रधानमन्त्री देउवाका भेटघाटहरु शुरु हुनेछन् । त्यसक्रममा उनले बेलायती लर्ड, पूर्वमन्त्री, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल पदाधिकारी लगायतका बेलायतीहरुसँग भेट्ने कार्यक्रम छ । ती भेटघाटहरुपछि प्रधानमन्त्री देउवासँग एनआरएनए यूके र नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिका प्रतिनिधिहरुले पनि छुट्टै भेट गर्नेछन् ।
शनिबार साँझ भने प्रधानमन्त्री देउवाको सम्मानमा बेलायती संसदको नेपाल मामिला हेर्ने अन्तरपार्टी संसदीय समितिका तर्फबाट रिसेप्सन आयोजना हुँदैछ । लन्डनको ‘द नाभेल एन्ड मिलिटरी क्लब’ मा आयोजना हुने रिसेप्सनमा बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधिलगायतका उच्च अधिकारीको सहभागिता रहनेछ ।
आइतबार बिहान पनि प्रधानमन्त्री देउवाका भेटघाट निरन्तर हुनेछन् । वर्ल्ड इनर्जी काउन्सिलका अधिकारीहरुका साथै सोही दिन भूतपूर्व गोर्खाका प्रतिनिधि समेतलाई भेट्ने प्रधानमन्त्रीको कार्यक्रम छ । ती भेटघाटपछि दूतावासले प्रधानमन्त्रीको सम्मानमा दूतावासमा एक रिसेप्सन आयोजना गर्नेछ । जसमा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि आमन्त्रित छन् ।
आइतबार बेलुका प्रधानमन्त्री देउवा कोप २६ मा भाग लिन स्कटल्यान्डतर्फ लाग्नेछन् । सोमबार र मंगलबार उनी विश्व नेताहरुको सम्मेलनमा भाग लिनेछन् । मंगलबारका दिन उनले सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।
स्कटल्यान्डमा रहंदा प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने पनि कार्यक्रम छ ।
नोभेम्बर ३ का दिन प्रधानमन्त्री स्कटल्यान्डबाटै स्वदेश फर्किनेछन् ।