बिहीबार, माघ ३, २०८१
16:17 | २२:०२

प्रधानमन्त्री देउवा आज साँझ लन्डन आइपुग्दै

नेपाली लिङ्क अक्टोबर २९, २०२१

प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ लन्डनस्थित हिथ्रो एअरपोर्ट आइपुग्दैछन् । देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौंबाट कतार एयरवेजको उडानमा लन्डन प्रस्थान गरेका हुन् ।​ स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गरेको हो ।

पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।

यस्तै वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

​भीआइपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै लन्डन गएका छन् ।

अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू