शनिबार, माघ ५, २०८१
07:58
|
१३:४३
प्रधानमन्त्री देउवा शुक्रबार बेलायत उड्दै
रासस
अक्टोबर २७, २०२१
काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
भ्रमणका क्रममा देउवा अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लन्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री त्यहाँ रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्टोबर ३१ गते प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । उनले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद् सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्ने तय छ ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले वल्र्ड लिडर समिटमा नेपालकातर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
सोही दिन साँझ प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।
उनी नोभेम्बर २ को बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारिख स्कटल्याडको एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्ने बताइएको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । उनी बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारिख बिहान स्वदेश आइपुग्नेछन् ।
कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५