बिहीबार, माघ ३, २०८१
12:58 | १८:४३

राजशान्तिको गीतलाई एकैपटक दुई अवार्ड

नेपाली लिङ्क अक्टोबर २७, २०२१

लन्डन । बेलायतस्थित समाजसेवी एक दम्पत्तिले सृजना गरेको गीतले नेपालमा अवार्ड जितेको छ ।

लमजुङमा जन्मिएर बेलायतलाई कर्मथलो बनाउंदै आएका समाजसेवी एवं गीतकार राजकुमार सुनार र शान्ति सुनारले लेखेको गीत ‘जसलाई मैले’ ले अवार्ड जितेको हो ।

राजकुमार सुनार र शान्ति सुनार (राजशान्ति सुनार) ले ‘नेशनल गण्डकी म्यूजिक अवार्ड-२०७८’ मा उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् ।

साथै सोही गीतका संगीतकार बिबी अनुरागीले उत्कृष्ट संगीतकार र एरेन्जरको अवार्ड प्राप्त गरेका छन् ।

पोखरामा हालै आयोजित ‘नेशनल गण्डकी म्यूजिक अवार्ड–२०७८’ समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले अनुरागीलाई अवार्ड हस्तान्तरण गरे ।

एकैपटक दुई अवार्ड प्राप्त गरेको उक्त गीत राजशान्तिको पहिलो सृजना हो । गीतले छोरी बुहारी दुबै बराबर हुन्, बुहारीलाई छोरी जस्तै ब्यवहार गर्न सक्नु पर्छ भन्ने सन्देश बोकेको राजकुमारले बताए ।

गीतले दाईजो प्रथालाई पनि समेटेको छ । ‘हाम्रो समाजमा छोरीलाई बिवाहको बहानामा दाइजोसंग साट्ने प्रचलन अझै छ । दाईजोकै कारण कति बुहारीको हत्या भएको दुःखद समाचार सुनिरहेका छौं’, गीतकार सुनार भन्छन्, ‘त्यसैले पनि हामीले गीतका माध्यमबाट बुहारीलाई पनि छोरी सरह ब्यवहार गर्नु पर्छ । छोरीलाई दाईजो होइन शिक्षा आवश्यक छ भन्ने सन्देश प्ररवाह गरेका हौं ।’

बेलायत निवासी सुनार दम्पतिले राजशान्ति फाउन्डेशन बेलायतमार्फत नेपाल र नेपालीका लागि सहयोग 
गर्दै आएका छन् । समाजसेवी स्वर्गीय बाबुको प्रेरणाले नै आफू समाजसेवामा सभर्पित भएको राजकुमार सुनारले बताए । उनी बेलायतको नेपाली समुदायमा पनि च्यारिटी गरिरहेको भेटिन्छन् ।

अवार्ड जित्न सफल सुनार दम्पत्तिको गीतको म्यूजिक भिडियो समेत बनाइएको छ जसको निर्माण राजशान्ति फाउन्डेशन बेलायतले गरेको हो ।

स्वरुपा रसाइलीको स्वर रहेको उक्त गीतमा उत्साह घिमिरे र गौरव पहारीको अभिनय छ । भिडियो निर्देशन समन अधिकारीले गरेका छन् ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू