बेलायतमा कोरोनाबाट एक लाख ४० हजार बढीको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणका ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप २०७ जना संक्रमितको मृत्यु भएसंगै मृतक संख्या एक लाख ४० हजार ४१ पुगेको हो ।
तर, कोरोनाबाट मृत्यु भएको मृत्युदर्ताको आधारमा भने मृतक संख्या एक लाख ६३ हजार भन्दा बढी भएको तथ्यांक छ । अघिल्लो दिन २६३ जना संक्रमितको मृत्यु भएको थियो जुन, ८ महिनापछिकै सबैभन्दा बढी हो । मृत्यु हुनेको संख्या पछिल्लो दुई दिन लगातार दुई सय भन्दा बढी रहँदै आएको छ ।
यसैगरी बितेको २४ घन्टामा थप ४३ हजार ९४१ नयाँ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल संक्रमित हुनेको संख्या ८८ लाख ९७ हजार १४९ पुगेको छ । विगत केहि हप्तायता दैनिक संक्रमित संख्या ४० हजारमाथि छ ।
संक्रमित संख्या वृद्धिसंगै अस्पताल भर्ना भएका संक्रमितको संख्या पनि सामान्य रुपमा बढेको छ । पछिल्लो २४ घन्टामा ८९४ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार ८०१ छ । यस्तै ९५० जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
१० करोड बढी डोज वितरण
बेलायतमा हालसम्म १० करोड भन्दा बढी कोरोनाविरुद्धको खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९७ लाख ९४ हजार १२० जना अर्थात ८६.६ प्रतिशतले खोपको पहिलो र ४ करोड ५६ लाख ५ हजार ९२० जना अर्थात ७९.३ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।
यसैगरी बेलायतमा कोरोनाविरुद्धको तेस्रो अर्थात बुष्टर डोज लगाउनेको संख्या पनि ६७ लाख नाघेको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ ।