बेलायतमा कोरोनाबाट मार्चपछिकै धेरै मृत्यु
एकैदिन २६३ को मृत्यु
लन्डन । बेलायतमा कोरोना कासंक्रमणका कारण पछिल्लो २४ घन्टामा २६३ जनाको ज्यान गएको छ । यो संख्या झन्डै ८ महिनायताकै सबैभन्दा बढी हो ।
अघिल्लो साताको तुलनामा मृतक संख्या झन्डै ८ प्रतिशतले बढेको हो । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार नजिक पुगेको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार बेलायतमा हालसम्म एक लाख ३९ हजार ८३४ जना संक्रमितको ज्यान गइसकेको छ ।
यसैगरी बितेको २४ घन्टामा थप ४० हजार ९५४ जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल संक्रमित हुनेको संख्या ८८ लाख ५३ हजार नाघेको छ । विगत केहि दिनयता दैनिक संक्रमितको संख्या ४० हजारमाथि छ भने गत २१ अक्टुबरमा एकैदिन ५२ हजार बढी संक्रमित भएका थिए ।
गएको एकसातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या १६ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ९१६ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेकाको संख्या ८ हजार ६९३ छ । यस्तै ९१३ जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म झण्डै १० करोड डोज कोरोनाविरुद्ध खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९७ लाख ५३ हजार ३७ जना अर्थात ८६.२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५५ लाख ८२ हजार ८९१ जना अर्थात ७९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।
यसैगरी बेलायतमा कोरोनाविरुद्धको तेस्रो अर्थात बुष्टर डोज लगाउनेको संख्या पनि ६० लाख नाघेको छ । जाडो याममा संक्रमण दर तीव्र हुने भएकाले आफ्नो पालो आउनेबित्तिकै खोप लगाउन सरकारले अनुरोध गरेको छ । हाल ५० वर्षमाथिका, फ्रन्टलाइन वर्कर्स तथा स्वास्थ्य अवस्था कम्जोर भएकालाई बुष्टर डोज वितरण भइरहेको छ ।