चार्ल्टन नेपाली समाज यूकेले दशैं-तिहारसंगै मनायो दशौं वर्षिकोत्सव
लन्डन । साउथ इष्ट लन्डनको चार्ल्टन आसपास बस्ने नेपालीहरुको संस्था ‘चार्ल्टन नेपाली समाज यूके’ ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ ।
समाजले आइतबार स्थानीय मेरिडियन स्पोर्ट क्लबमा आयोजना गरेको दशैं-तिहार शुभकामना कार्यक्रमबीच संस्थाको दशौं वार्षिकोत्सव पनि मनाइयो । त्यसअवसरमा समाजको दशौं वार्षिकोत्सव विशेष केक समेत काटेर शुभकामना आदानप्रदान गरिएको थियो ।
समाजकी अध्यक्ष रेखा खरेल, पूर्व अध्यक्षहरु रोमनाथ पाण्डे, टंक कंडेल र कृष्ण खरेल, सल्लाहकार एवम् पशुपतिनाथ मन्दिर प्लमस्टिडका संस्थापक अध्यक्ष होम शर्मा लगायतको हातबाट केक काटिएको थियो ।
त्यसअघि अध्यक्ष रेखा खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकआपसमा दशैं-तिहारको शुभकामना बाँड्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरुबाट मनोरञ्जन गरिएको थियो ।
त्यसअवसरमा लन्डनस्थित लोकप्रिय दाजुभाइ ब्यान्डका गायक अमित मगरले विशेष प्रस्तुति गर्दै माहोल तताएका थिए । साथमा अन्य स्थानीय कलाकारका आकर्षक नाचहरु पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा समाजका कार्यसमिति सदस्य वसन्त खनालको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु मिलेर मौलिक देउसी प्रस्तुत गरेका थिए । डिजे हेम विष्टले रमाइला गीतहरु बजाएर सहभागीलाई खुबै नचाए ।
कार्यक्रममा समाजको कार्यसमितिमा नियुक्त मुना सापकोटा र मनबहादुर थापालाई स्वागत गरिएको थियो । सोही अवसरमा आकर्षक पुरस्कारहरुसहितको राफल ड्र पनि गराइएको थियो ।
कार्यक्रम समापन गर्दै अध्यक्ष रेखा खरेलले समाजका तर्फबाट दशैं-तिहारको शुभकामना व्यक्त गरेकी थिइन् । उनले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्ने सहयोगी एवम् कार्यसमिति पदाधिकारीलाई धन्यवाद दिइन् । त्यसअघि कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कृष्ण खरेल, पूर्व सचिव रेशम अर्याल, सल्लाहकार एवम् पशुपतिनाथ मन्दिर प्लमस्टिडका संस्थापक अध्यक्ष होम शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
समाजका महासचिव टिएन रिजालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) अध्यक्ष जीत रानाभाट, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, पासा पुच साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठसहित कर्ण शाही, महेन्द्रराज कंडेल, विनोद ज्ञवाली, संस्थापक अध्यक्ष सुरज केसी, नरेन्द्र कंडेल, राजन कंडेल, जीवन वाग्ले, गंगा खरेल, शर्मिला हिराचन, मञ्जु भण्डारी लगायतका साउथ इष्ट लन्डनस्थित नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय क्षेत्रका नेपालीहरुको बाक्लो सहभागिता थियो । जसमा नयाँ पुस्ताको उपस्थिति पनि उल्लेख्य देखिन्थ्यो । कार्यक्रम सफल पार्न समाजका अध्यक्ष रेखा खरेल, उपाध्यक्ष प्रकाश कंडेल र सीता अर्याल, महासचिव टिएन रिजाल, कोषाध्यक्ष राम पाण्डे, सचिव आनन्द लोहनी, सहकोषाध्यक्ष दिल जीसी, सदस्यहरु वसन्त खनाल, किरण सापकोटा, कृष्ण भण्डारी, दानमाया महर्जन, सीता ढकाल, स्मारिका पाण्डे, धन लामासहित कार्यसमितिका सबै पदाधिकारी, सदस्य र सल्लाहकारले भूमिका निभाएका थिए ।
तस्विरहरु सौजन्य: प्रभात रिजाल