आइतबार, माघ ६, २०८१
19:28 | ०१:१३

अष्ट्रेलियालीमा रहेका आप्रवासीका अभिभावकलाई यात्रा छूट

रासस/सिन्ह्वा अक्टोबर २४, २०२१

अष्ट्रेलियाको सिड्नी हार्वर । तस्बिर एपी

क्यानबेरा, ६ कात्तिक– अष्ट्रेलिया सरकारले आफ्ना नागरिक र अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका बासिन्दाका अभिभावकका लागि यात्रा आवेदन खुला गरेको छ ।

कोभिड–१९ का कारण विदेशमा छुटेका आप्रवासीहरुका अभिभावकहरुलाई आवत जावत गर्नका लागि यस्तो व्यवस्था गरिएको हो ।

सरकारले आफ्ना नागरिक र अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका बासिन्दाका आमाबाबुलाई ‘निकट परिवार’ को परिभाषामा समावेश गरिने जनाएको गृह मन्त्रालयले शुक्रबार यात्रा छूट सूचना जारी गर्दै नोभेम्बर १ देखि देश यात्राको लागि आवेदन अनुमति सुरु गरेको हो ।

अष्ट्रेलियाको कोभिड–१९ नियन्त्रण का लागि कडा सिमा प्रतिबन्ध अन्तर्गत नागरिक वा बासिन्दाका नजिकका परिवारका सदस्यलाई मात्र देशभित्र प्रवेश गर्न अनुमति दिइएको छ । सुरुमा आमाबाबुलाई नजिकको परिवारको रूपमा लिइँदैनथ्यो तर यो छूटसम्बन्धी व्यवस्था नोभेम्बर १ देखि सुरू भएपछि उनीहरूलाई अष्ट्रेलिया प्रवेशमा सहजता मिलेको छ ।

गृह मामिला मन्त्री करेन एन्ड्रुजले यस परिवर्तनले महामारीद्वारा छुट्टिएका थुप्रै परिवारलाई पुनर्मिलन गर्न अनुमति दिने बताइन् ।

उनले भनिन्, “बिगत १८ महिनाभन्दा बढीदेखि विदेशमा आमाबाबु भएका थुप्रै परिवारले विवाह, अन्त्येष्टि, नातिनातिनाको जन्म र अन्य महत्वपूर्ण घटनाहरूमा संलग्न हुन पाएका छैनन् । यस अवधिमा तिनीहरूको धैर्य र त्यागको लागि म यी परिवारहरूलाई धन्यवाद दिन चाहन्छु ।”

आजको परिवर्तनसँगसँगै अस्ट्रेलियाका नागरिक तथा स्थायी बासिन्दाका आमाबाबु अस्ट्रेलियामा पुनर्मिलन हुन सक्ने र तिनीहरूले फेरि एक चोटि आफ्ना नातिनातिनालाई समातेर जीवनको महत्वपूर्ण उपलब्धि हासिल गर्न एक ठाउँमा भेला हुन सक्ने करेनको विश्वास छ ।

अस्ट्रेलियामा प्रवेश गर्न आवेदन दिने आमाबाबुले आफ्नो वयस्क बच्चाको नागरिकता वा निवासका साथै तिनीहरूको सम्बन्धको प्रमाण प्रदान गर्नुपर्नेछ ।

आवेदकहरूले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको हुनुपर्ने आइपुगेको राज्य वा इलाकाको क्वारेन्टाइन प्रबन्धको अधीनमा रहनुपर्नेछ ।

शुक्रबार अस्ट्रेलियाले स्थानीय तवरमा प्राप्त दुई हजार ५०० भन्दा बढी नयाँ कोभिड संक्रमणका घटना पुष्टि भएको र २१ जनाको मृत्य भएको जनाएको छ ।

मेलबर्न ७७ दिनसम्म बन्द भएपछि यो नीति आउने तयारीमा छ । यो जूनदेखि पहिलो पटक कुनै पनि अस्ट्रेलियाली प्रमुख शहर बन्द नभएको संकेत हो ।

स्वास्थ्य विभागले हालै जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म १६ वर्ष र त्यसभन्दा बढी उमेरका ८६.१ प्रतिशत अस्ट्रेलियालीहरूले एउटा कोरोनाभाइरस खोप लिइसकेका छन् भने ७१.७ प्रतिशतलाई पूर्ण खोप लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू