बिहीबार, माघ ३, २०८१
10:44 | १६:२९

बेलायतमा संक्रमण बढ्दै, एकैदिन झन्डै ४५ हजार संक्रमित  

नेपाली लिङ्क अक्टोबर १५, २०२१

फाइल तस्विर

लन्डन । बेलायतमा कोरोना संक्रमण दर पछिल्ला दिनमा लगातार उकालो लाग्दै गइरहेको छ । विगत केहि दिनयता दैनिक संक्रमितको संख्या ४० हजार भन्दा माथि छ ।

कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४४ हजार ९३२ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

एक सातामा दुई लाख ८१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको सरकारी तथ्यांकले देखाएको छ । अघिल्लो साताको तुलनामा संक्रमित संख्या ११.५ प्रतिशतले वृद्धि भएको हो ।  बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ८३ लाख ६१ हजार ६५१ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १४५ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ८१८ जना संक्रमितको ज्यान गएको छ । यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार ३७९ पुगेको छ । मृतक संख्या पनि अघिल्लो साताको तुलनामा ५.१ प्रतिशतले वृद्धि भएको हो ।

गएको एकसातामा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८.१ प्रतिशतले बढेको छ ।

पछिल्लो २४ घन्टामा ८२७ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ८६ छ । यस्तै ७८३ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९३ लाख ३५ हजार १५४ जना अर्थात ८५.८ प्रतिशतले खोपको पहिलो र ४ करोड ५२ लाख ९७ हजार २३१ जना अर्थात ७८.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा छ ।

बेलायतमा हाल तेस्रो अर्थात ‘बुष्टर’ डोज पनि शुरु गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू