एनआरएनए यूकेको लेखा समिति गठन
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघको हिसाबकिताब तथा आर्थिक प्रशासनको निरीक्षण गर्न विधान अनुसार एक लेखा समिति गठन गरेको छ ।
समितिमा चार्टर्ड एकाउन्टेन्ट राजेन्द्र सुबेदी संयोजक छन् भने सदस्यमा भर्खरै सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उपविजेता दिपक श्रेष्ठ, एनआरएनए यूके राज्य समन्वय परिषद स्कटल्याण्डकी कोषाध्यक्ष तथा लेखा व्यवसायी शर्मिला भण्डारी सदस्य तथा कोषाध्यक्ष विष्णु खरेल सदस्य सचिव रहेका छन् ।
पाँच सदस्यीय समितिमा सल्लाहकार तथा संरक्षकमध्येबाट मनोनित गर्नुपर्ने एक सदस्य भने पछि थप गरिने बताइएको छ ।
गैरआवासीय नेपाली संघ यूकेको विधानको धारा ३३.६ मा गैर आवासीय नेपाली संघ यूकेको आर्थिक गतिविधिको अध्ययन तथा अनुगमन गर्न नयाँ नेतृत्व निर्वाचित भएको तीन महिनाभित्र लेखा समिति गठन गर्नुपर्ने प्रावधान छ ।
समितिमा लेखा विज्ञ एक, महिला एक, संरक्षक तथा सल्लाहकार मध्येबाट एक मनोनित गरिने तथा कोषाध्यक्ष समितिको सदस्य सचिव हुने व्यवस्था छ । जस अनुसार लेखा विज्ञको रुपमा सिए राजेन्द्र सुबेदी, महिलाबाट शर्मिला भण्डारी, अध्यक्षका उम्मेदवारमध्येबाट दिपक श्रेष्ठलाई मनोनित गरिएको छ भने सल्लाहकार तथा संरक्षकको मनोनयन नभइसकेकोले एकजना सदस्यको मनोनयन पछि गरिने जनाइएको छ ।