बेलायतमा बढ्दै संक्रमण, जुलाईयताकै उच्च
लन्डन–बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा झन् बढेको छ । सरकारी अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै संक्रमित देखिएको बताएका छन् ।
बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही दिनमा संक्रमण झन् बढेको पाइएको बताएका हुन् । यहाँका सरकारी अधिकारीहरूले बताएअनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलो पटक ४२ हजार जना भन्दा बढी संक्रमित देखिएका हुन् ।
सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयास बाबजुत पनि यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा संक्रमण भएको छ ।
यो समेतगरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । बेलायती स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत छन्।
यहां १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।