क्रोयडन नेपाली समाजको १० औं वार्षिक उत्सवमा दशैं शुभकामना तथा रक्तदान
लन्डन । क्रोयडन नेपाली समाज (सिएनसी) यूकेले २०७८ सालको बडा दशैंलाई संस्थाको १० औं वार्षिक उत्सवसंग जोडेर यसपटक भिन्न तरिकाले कार्यक्रम गर्न सफल भएको छ ।
समाजले सधैं झैं गरिने नाचगान, पार्टीलाई अलिक भिन्न ढंगबाट प्रस्तुत गर्न ‘सेवा नै धर्म हो’ भन्ने नेपालीको मुलमन्त्रलाई शिरोधार्य गर्दै रक्तदान कार्यक्रम गरेको हो ।
गत अक्टोबर ३ तारिखका दिन स्थानीय वेष्टफिल्ड सपिङ मलमा आयोजित उक्त कार्यक्रममा सहभागी भइ विभिन्न व्यक्तिले रक्तदान गरे ।
सो समारोहमा सिएनसी यूकेले उपस्थित रक्तदाता तथा अन्य सहयोगीलाई स्थानीय सेफर्डस् बुस ग्रीनमा खाजाको व्यवस्थासहित विजयादशमीको शुभकामना आदानप्रदान व्यवस्था मिलाएको थियो ।
सन् २०२१ को बडा दशैंमा २१ जनाले नै रक्तदान गर्ने योजना बनाइए अनुरुप ति व्यक्तिले रक्तदान गरे पनि बांकी अन्य रजिष्टर्ड रक्तदाताहरुले आगामी दिनमा आफ्नो अनुकुल समयमा रगत दान गर्ने गरि व्यवस्था मिलाइएको छ ।
विहानीको सेसनमा क्रोयडन नेपाली समाजका सल्लाहकार काशीराम ढकाल, संस्थाका संस्थापक सल्लाहकार चन्द्र गुरुङ, संस्थापक सदस्य मदन खपांगी, बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठ र चितवन एड ट्रष्ट (क्याट यूके) का निवर्तमान अध्यक्ष जीवन सेनले रक्तदान गरेका थिए ।
त्यसैगरि, दिउसोको सेसनमा सिएनसी यूकेकी कोषाध्यक्ष श्रीमति उषा बास्कोटा, संस्थाकी सदस्य सुनिता श्रेष्ठ, सिएनसी यूकेका सदस्यहरु कमला विश्वकर्मा, मोहनराज कार्की, दिवस गुरुङ र उपकार बास्कोटाले रक्तदान गरेका थिए भने संस्थाका अध्यक्ष डा. सुरजमणि पौडेलले सबैभन्दा अन्त्यमा रक्तदान गरि उक्त कार्यक्रम समापन गरेका थिए ।
क्रोयडन नेपाली समाजले विगत दुई वर्षदेखि आफ्ना चलिआएका कार्यक्रमलाई अलिक फरक
रचनात्मक र अन्वेषनात्मक ढंगबाट प्रस्तुत गर्ने गरेको संस्थाका अध्यक्ष डा. पौडेलले बताए ।
समाजले कोभिड १९ को लकडाउनका बेला देउसी भैलो कार्यक्रम भर्चुअल गरेर यूके तथा विश्वमानै एउटा नमुना प्रस्तुत गरेको थियो भने क्रोयडन युनिभर्सिटी हस्पिटलमा गइ त्यहां कार्यरत ५ विभागका कर्मचारीहरुलाई निशुल्क खाना वितरण गरेको थियो ।
रक्तदान कार्यक्रमको सम्पूर्ण संयोजन संस्थाका अध्यक्ष डा. सुरजमणि पौडेलले गरेका थिए भने खाजा तथा अन्य व्यवस्थापनको संयोजन संस्थाका सचिव केशव ढकाल, संस्थापक सदस्य मदन खपांगी, मोहनराज कार्की तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरुले गरेका थिए ।
बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठ, क्याट यूकेका निवर्तमान अध्यक्ष जीवन सेन तथा सिएनसी यूकेका संस्थापक सल्लाहकार चन्द्र गुरुंगले सिएनसी यूकेले रक्तदान कार्यक्रम राखी एउटा उदाहरणीय संस्थाको भूमिका निभाएकोमा बधाइ तथा धन्यवाद दिए ।
यसका साथै सम्पूर्ण रक्तदाताहरुले पनि सिएनसी यूकेले रक्तदान जस्तो महत्वपूर्ण कार्यका लागि उत्प्रेरित गरि रक्तदान गर्ने व्यवस्था मिलाएकोमा संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई ह्दयदेखि धन्यवाद दिएका थिए ।
क्रोयडन नेपाली समाजका अध्यक्ष डा. सुरजमणि पौडेलले रक्तदान जस्तो मानवीय कार्य गरि जीवनदान गर्न सहयोग गर्ने सम्पूर्ण रक्तादातालाई आफ्नो व्यक्तिगत तथा सिएनसी यूके कार्यसमितिका समस्त टिमको तर्फबाट धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाले भविष्यमा गर्ने यस्ता परोपकारी कार्यहरुमा सबैको उत्साहपूर्ण सहभागिताको अपेक्षा गरिएको बताए ।