राजदूत रेग्मीलाई गेसोको विदाइ
लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले यही अक्टोबर अन्तिम साता नेपाल फर्कन लागेका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी दम्पत्तिलाई एक समारोहबीच विदाइ गरेको छ ।
७ अक्टोबर बिहीबार गेसो केन्द्रिय कार्यालय अल्डरसटमा रेग्मी दम्पत्तिको विदाइ गरिएको हो ।
आफ्नो विदाइ कार्यक्रममा राजदूत रेग्मीले गोर्खाहरुबाट पाएको सहयोगप्रति आभार व्यक्त गरे । उनले गोर्खाहरुको समान पेन्सन लगायत माग समाधानका लागि वार्ता गर्न गठन भएको निर्देशक कमिटी नै सर्वोच्च निकाय रहेको बताए । सो कमिटीबाट कोहि पनि बाहिरन वा तितरवितर हुन नहुने उल्लेख गर्दै रेग्मीले सबै गोर्खा संगठनले एकतालाई स्वीकार गरिसकेको अवस्थामा छिट्टै वार्ताले मुर्तरुप लिने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका सभापति तथा वार्ताका लागि गोखाहरुको तर्फबाट गठित निर्देशक कमिटीका सदस्य कृष्ण कुमार राईले आगामी वार्ता र यसका सम्भाव्य परिस्थितिबारे बताए ।
सभापति राईले राजदूत रेग्मीको कूटनीतिक क्षमताका कारण भूतपूर्व गोर्खाहरुको भोक हड्ताल ‘सेफ ल्याण्डिङ’ भएको बताउंदै गोर्खा समस्या समाधानतिर अगाडि बढिरहेका बेला बीचैमा नेपाल सरकारले फिर्ता बोलाउंदा आफूहरु दुःखी भएको बताए । उनले कुनै पनि बहानामा गोर्खा मुद्दा ओझेल पर्न नहुनेमा पनि जोड दिए ।
गेसो केन्द्रिय सदस्य बसुन्धरा राईले सञ्चालन गरेको उक्त कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, मिलिट्री अट्याची रत्न गोदार, द्धितिय सचिव रामबाबु नेपाल लगायत गोर्खाहरुको सहभागिता थियो ।