लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण एकैदिन झन्डै ४० हजार संक्रमित भएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३९ हजार ८५१ जना नयाँ संक्रमित थपिएका छन् ।
थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । बेलायतमा महामारी शुरु भएयता कुल संक्रमितको संख्या ८० लाख ६ हजार ६६० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा पछिल्ला दिनहरुमा दैनिक संक्रमण संख्या लगातार ३० हजार माथि छ ।
यसैगरी पछिल्लो २४ घन्टामा यहाँ थप १४३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृतक संख्या एक लाख ३७ हजार २९५ पुगेको छ । पछिल्लो २४ घन्टामा ६६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ८३६ छ । यस्तै ८०० संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्ध ९ करोड ४० लाख ८५ हजार ८३० डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९० लाख ३५ हजार ८७७ जनाले खोपको पहिलो र ४ करोड ५० लाख ४९ हजार ९५३ जनाले दुवै डोज लगाइसकेका छन् ।