आइतबार, माघ ६, २०८१
00:06 | ०५:५१

फिलिपिन्सका पूर्व राष्ट्रपतिका छोराले दिए राष्ट्रपतिमा उम्मेदवारी

रासस-सिन्ह्वा अक्टोबर ६, २०२१


मनिला–फिलिपिन्सका पूर्व राष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । पूर्व राष्ट्रपति मार्कोसका दुई सन्तान मध्ये एक मात्र छोरा मार्कोस जुनियरले आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार उम्मेदवारी दिएका हुन् ।

उनले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिएको जनाइएको छ । आफ्ना बुवा राष्ट्रपति भएका बेला उनी इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित भएका थिए । उनका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको निधन सन् १९८९ मा भएको थियो ।

मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटर समेत भएका थिए । सन् २०१६ मा भएको निर्वाचनमा उनले उपराष्ट्रपतिका लागि प्रतिष्पर्धा गरेका थिए । आगामी सन् २०२२ को मे मा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचन प्रक्रिया सुरु भएको छ ।

भावी राष्ट्रपतिका लागि उनीसहित चर्चित बक्सिङ खेलाडी तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ताको समयसीमा यही अक्टोबर ८ तारिखसम्म तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू